छापा खबर


सरकारी ढिलासुस्ती: तिहार र छठमै चिनी अभाव

सरकारी ढिलासुस्ती: तिहार र छठमै चिनी अभाव

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १:२७,

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ।

१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो। सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए।

साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियतमध्ये ५ हजार टन ल्याइसकेको छ । तिहार र छठसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ।

तर, बजार हस्तक्षेप गर्ने दायित्व पाएका यी दुई सरकारी स्वामित्वका कम्पनीसँग पर्याप्त चिनी नहुँदा निजी व्यापारीले त्यसको फाइदा उठाउँदै प्रतिकिलो १० देखि १५ रुपैयाँ बढी मूल्य लिने गरेका छन्।

सहुलियत दरमा आयात गरेको चिनी साल्ट टे«डिङले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । चाडबाडलाई लक्ष्य गरी थप ३ रुपैयाँ छुट दिएको साल्टको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले प्रतिकिलो ८५ देखि ९५ रुपैयाँसम्ममा बेचिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad