राजनीति


अमेरिकामा राष्ट्रपतीय निर्वाचन भोलि, नेपाली मूलका अमेरिकीले कसलाई देलान् मत?

अमेरिकामा राष्ट्रपतीय निर्वाचन भोलि, नेपाली मूलका अमेरिकीले कसलाई देलान् मत?

मधुकर अधिकारी
कात्तिक १७, २०७७ सोमबार ८:६,

अमेरिकामा बहुप्रतीक्षित राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ। यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन। सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ।

विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो भने यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो ।

हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ । त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ। त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ।

आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ। कुल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ। अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ।

हुलाकमार्फत मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ)मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो।

मङ्गलबार हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रमशः वर्चस्व रहेको सिनेट र कांग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ। एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ। उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिट सहित वर्चस्व रहेको छ।

यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदै छ। सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ।

विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए पनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ। तर पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन तर यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिकरुपमा मतदाता र उमेदवारहरुबीच अन्तक्र्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन्।

अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ। सङ्ख्यात्मक हिसाबले नेपली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए पनि नेपाली मुलुकको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र्याट पार्टीका उम्मेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएको बताउँदै आएका छन्।

डेमोक्र्याट पार्टीकोतर्फबाट मेरिल्याण्ड जनरल एसेम्वलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन हयारी भण्डारीले आफनो अगुवाइमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन्। यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिबारे भर्चुअल अन्तक्र्रिया र ¥याली पनि उनले गरेका थिए।

भण्डारीले भने, “हामीले राजनीतिकरुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पिँढीलाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। व्यक्तिगतरुपमा म र हाम्रो समूहले पूर्व राष्ट्रपति वाराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो।”

आफूलाई डेमोक्र्याट पार्टीले बोक्ने प्रगतिशील एजेण्डा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय हरेक मुद्दामा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उनको भनाइ छ । भण्डारी अमेरिकाको राजनीति र माइनोरिटी सम्बन्धमा युनिभर्सिटी अफ मेरिल्याण्डवाट विद्यावारिधिका लागि शोध गरिरहेका छन्। उनले अध्ययनका क्रममा अमेरिकाको राजनीतिमा एशियन अमेरिकनको सहभागिता आगामी दशकमा अझ बढ्ने अनुसन्धानले पुष्टि गरेको र यसमा आफू विश्वस्त रहेको बताउँछन्। एसियन अमेरिकनसँगै नेपाली अमेरिकनको पनि राजनीतिक पहुँचको वृद्धि हुनेमा पूर्ण विश्वास रहेको भण्डारीको भनाइ छ।

डेमोक्र्याट पार्टीको एशियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स् मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भने, “हामी नेप्लीज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो।”

हमालले आगामी नोभेम्बर ३ तारिखमा हुने मतदानमा भाग लिएर नेप्लीज अमेरिकनले आफ्नो अधिकार उपयोग गर्न अनुरोध गरेको पनि बताए। उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आइसीसीका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिष्टर्ड रिपव्लिकन’ भएको बताउँछन्।

पोख्रेलले भने, “हामीले स्थानीय, राज्य र सङ्घीय सरकारमा हामी र हाम्रो एजेण्डा बुझाउन, अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ।”

टेक्सासमा रहेका नेप्लिज अमेरिकनहरुले साउथ एसियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उम्मेदवारलाई समेत सहयोग गर्दै आएका छन्। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन । यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ। कुल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन्। कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण रहेका छन् ।

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कुल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी इलोक्ट्रोल भोट ५५ जना भएको राज्य क्यालिफोर्निया हो भने सात वटा राज्यबाट तीन/तीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ । यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ। यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जीत निश्चित हुनेछ।

अमेरिकामा मङ्गलबार निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ। सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad