ad ad

राजनीति


एसएसपी धम्क्याउने विप्लव नेत्रीलाई ‘हातहतियार तथा बिस्फोटक पदार्थ’ मुद्दामा म्याद थप

एसएसपी धम्क्याउने विप्लव नेत्रीलाई ‘हातहतियार तथा बिस्फोटक पदार्थ’ मुद्दामा म्याद थप

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १३:३७,

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईलाई धम्की दिने प्रतिबन्धित नेकपा विप्लव समूहकी नेत्री साबित्रा अधिकारी ‘विदुषी’ विरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आइतबार जिल्ला अदालत ललितपुरमा सात दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङले बताए।

उनीविरुद्ध प्रहरीले हातहतियार तथा खर खजाना विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउने तयारी गरेको छ।

गत जेठ ३० गते ललितपुरबाट विप्लव समूहका जिल्ला सदस्य श्याम बज्राचार्य हातहतियार तथा बिस्फोटक पदार्थसहित पक्राउ परेपछि नेत्री अधिकारीले एसएसपी राईलाई धरपकड छाडेर देशको रक्षा र जनताको सुरक्षामा लाग्न निर्देशन दिँदै विज्ञप्ति जारी गरेकी थिइन्।

अधिकारी विप्लव समूहको ललितपुर सेक्रेटरी समेत हुन्। पक्राउ परेका बज्राचार्य समेत विप्लवसमूहको सम्पर्कमा नरहेको उनको दाबी थियो। तर बज्राचार्यको साथबाट प्रहरीले ठूलो मात्रामा हातहतियार तथा विस्फोटक पदार्थ मराबद गरेको जनाएको छ।

उनले बज्राचार्यलाई विप्लव समूहसँग जोडेर आएका सचारको समेत खण्डन गरेकी थिइन्।

उनको विज्ञप्तिमा एसएसपी राईलाई भनिएको थियो, ‘केपी सरकारका मतियार एसएसपी टेकप्रसाद राईलाई पनि जनाताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने, धरपकट गर्ने तथा शारीरिक मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौं।’

उक्त घटना लगतै विज्ञप्ति जारी गरेपछि उनलाई प्रहरीले निशाना बनाएको थियो।

ललितपुर जिल्ला सेक्रेटरी रहेकी अधिकारी जाजरकोट छेडागाड नगरपालिका ९ की हुन्। शनिबार राति साढे ८ बजेतिर उनलाई प्रहरीले पक्राउ गरेको थियो।

ललितपुर १२ मंगलबजारको भिमसेन मन्दिर नजिकै कोणसभा गरिरहेको अबस्थामा उनलाई प्रहरीले फेला पारेको थियो। ब्यानर टाँगेर कोणसभा गरिरहेकी अधिकारीको साथबाट विप्लव समूहसँग सम्बन्धित दस्तावेज फेला पारेको प्रहरीले जनाएको छ।

अदालतबाट म्याद लिएपछि थप अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .