सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।
वरिष्ठ नेता माधवकुमार नेपालसँग शनिबार बिहान आफ्नै निवासमा छलफल गरेका प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका हुन्।
अध्यक्षद्वयबीच अहिले प्रधानमन्त्री निवासमा छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको सापकोटाले जानकारी दिए।
‘दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ’, सापकोटाले नेपालखबरसँग भने, ‘ पार्टीभित्रको विवाद समधान र समसामयिक राजनीतिक विषयमा कुरा भइरहेको छ।’
पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवादलाई लिएर दुई अध्यक्षले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेपछि संवाद रोकिएको थियो। त्यसअघि दुई अध्यक्षबीच निरन्तर संवाद हुँदै आएको थियो।
दुई अध्यक्षबीच संवाद रोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेलले संवादका लागि निरन्तर पहल गर्दै आइरहेका थिए।
प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर पछिल्लो समय अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउँदै आएका थिए। प्रचण्डले निष्कर्षहीन संवाद गरिरहनुको औचित्य नहुने भन्दै प्रधानमन्त्री ओलीसँग अब आफू बालुवाटार नआउने बताएका थिए।
‘पार्टीभित्र देखिएको संवादहीनतालाई अन्त्य गर्न र छलफल गरेर अगाडि बढ्न विषयमा सहमति भएपछि मात्रै प्रचण्ड छलफलका लागि बालुवाटार आउनुभएको हो’, प्रचण्डका प्रेस सहयोगी सापकोटाले भने।
यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो। प्रचण्डसँग छलफलका लागि नेता नेपाल बिहान साढे ११ बजे खुमलटार पुगेका थिए।
नेकपाभित्र ओलीले एकलौटी गर्दै आएको भन्दै असन्तुष्ट रहेका दुई नेताबीच अब के-कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको भेटघाटबारे जानकार स्रोतले नेपालखबरलाई बतायो।
याे पनि : ओलीसँग टाढिएका प्रचण्ड भेट्न खुमलटार पुगे नेपाल, के हुँदैछ सरसल्लाह?

प्रतिक्रिया