राजनीति


रअ प्रमुख गोयलसँग भेटेपछि प्रधानमन्त्री ओलीः अब भारतले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्दैन

रअ प्रमुख गोयलसँग भेटेपछि प्रधानमन्त्री ओलीः अब भारतले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्दैन

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १५:५२,

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अब नेपालमा पहिलेजस्तो ‘माइक्रो म्यानेजमेन्ट’ नगर्ने निकट नेताहरूलाई बताएका छन्।

गत बुधबार, कार्तिक ५ गते अपरान्ह भारतीय सेनाको विशेष विमानबाट काठमाडौं उत्रेका रअ प्रमुख गोयलले त्यही रात करिब ३ घण्टा प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली र गोयलबीच नेपालको राष्ट्रिय हितमा नै असर पर्ने गरी गोप्य भेटवार्ता भएको भन्दै सत्तारुढ नेकपाकै नेताहरू र विपक्षी दल नेपाली कांग्रेसका नेताहरूले समेत प्रश्न उठाएका छन्। प्रधानमन्त्री ओली र उनी निकट नेताहरूले भने गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतको रुपमा नेपाल आएको र भेटवार्ता गोप्य नभएको दाबी गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले भेटवार्तामा परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी भएको र उनले नोट समेत राखेको बताएका छन्।

बालुवाटार निकट नेकपाका एक जना नेताले जनाएअनुसार प्रधानमन्त्री ओलीले सुरुमा गोयलले नेतृत्व गरेको रअको तीन सदस्यीय टोलीसँग करिब एक घण्टा १० मिनेट एक्लै भेटेका थिए। त्यसपछि करिब दुई घण्टा लामो वार्तामा भने परराष्ट्र सल्लाहकार भट्टराईलाई सहभागी गराइएको थियो।

भेटमा रअका प्रमुख गोयलको साथमा नेपालमा यसअघि रअको उपप्रमुख भएर काम गरेका अरुण जैन र रअका मुख्यालयमा अहिले नेपाल डेस्क प्रमुख शशीभुषण तोमर थिए। गोयलले रअका नेपाल स्टेसन प्रमुख अभिजित हल्दरलाई पनि भेटमा सहभागी गराएनन्।

प्रधानमन्त्री ओलीले निकट नेताहरूसँग राखेको भनाइबाट भेटमा नेपालको सत्ता–राजनीतिको विषयमा छलफल भएको पुष्टि हुन्छ।

‘अब भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्दैन, गोयललाई मैले सम्झाएर पठाइदिएको छु’, प्रधानमन्त्री ओलीले आफु निकट नेताहरूसँग राखेको भनाइ एक नेताले उधृत गरे।

स्रोतहरूका अनुसार मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसँगको भेटमा रअ प्रमुखसँग त्यसरी किन भेटवार्ता भयो भन्दै प्रश्न गरेका थिए।

‘प्रधानमन्त्रीको मर्यादा नै नाघेर जसरी रअ प्रमुखसँग भेट भयो, त्यो राम्रो भएन’, ओलीलाई नेपालले भने, ‘भोली अर्को देशको गुप्तचर प्रमुखले भेट्ना खोज्दा पनि यसरी नै भेट्नु हुन्छ?’

जवाफमा ओलीले नेपाललाई भनेका थिए, ‘तपाईंहरूले पनि यसअघि भेट्नु भएकै हो, भेट्न नै नहुने के छ र?’

लगत्तै नेपालले आफुले रअका अधिकारीसँग भेटघाट नगरेको प्रष्ट्याएका थिए।

गत बुधबार काठमाडौं उत्रेपछि गोयलले पहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेको सुरक्षा अधिकारीहरूले दाबी गरेका थिए। लगत्तै प्रचण्ड र माधव नेपालको सचिवालयले त्यो रिपोर्टको खण्डन गर्दै रअ प्रमुख गोयलसँग भेटवार्ता नभएको बताएका थिए।

नेपाली सेनाका अधिकारी लगायत विभिन्न उच्च स्रोतहरूका अनुसार गोयलले यसपटक प्रधानमन्त्री ओली बाहेक प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, महन्थ ठाकुर कसैलाई पनि नभेटेको पुष्टि भएको छ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता नगरेकाले गोयलको यो भ्रमण भारतीय सेनाप्रमुखको आसन्न नेपाल भ्रमणमा केन्द्रित थिएन भन्ने पनि प्रष्ट भएको छ। उनी प्रधानमन्त्री ओलीसँग मात्रै वार्ता गर्ने एउटै एजेण्डा बोकेर नेपाल आएका थिए र, त्यही गरेर २३ घण्टामै दिल्ली फर्किए।

‘प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न आएका हुन् गोयल, अरु नेताहरूसँग भेट्दा चलखेल गरे भन्ने सन्देश जाने भएकाले कसैसँग नभेटी फर्किए’, नेकपाको सचिवालयका एक नेताले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad