राजनीति


विज्ञ भन्छन्: नेपाल-भारत सम्बन्धको स्टेयरिङ गुप्तचर निकायको हातमा गयो

विज्ञ भन्छन्: नेपाल-भारत सम्बन्धको स्टेयरिङ गुप्तचर निकायको हातमा गयो

मणि दाहाल
कात्तिक ६, २०७७ बिहिबार १५:७,

दिल्लीबाट बुधबार दिउँसो नेपाल आइपुगेका भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयल २१ घण्टे भ्रमण पुरा गरेर दिल्ली फर्किसकेका छन्। तर, उनको भ्रमणले नेपालमा ल्याएको तरंग अझै सेलाएको छैन।

काठमाडौँमा गोयलको उच्चस्तरीय भेटघाटले नेपाल–भारत सम्बन्ध उल्टो बाटोमा गएको संकेत दिएको विज्ञहरुले बताएका छन्। राजनीतिक तहमा संवाद र छलफल बन्द भएका बेला नेपाल–भारत सम्बन्धको स्टेयरिङ पहिलेजस्तै सुरक्षा र गुप्तचर निकायमा हातमा गएको उनीहरुले बताए।

गोयलले नेपालमा प्रधानमन्त्री केपी ओलीदेखि प्रमुख राजनीतिक दलका सबै प्रमुख नेतालाई भेटेका थिए।

राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री गुप्तचर निकायका प्रमुखको खुला कूटनीतिक गतिविधिले राम्रो संकेत नगरेको बताउँछन्।

‘गुप्तचार निकायका प्रमुख आउँदा उनले नेपालका गुप्तचर प्रमुखसँग छलफल गर्नुपर्ने हो,’ खत्रीले नेपालखबरसँग भने, ‘तर, जुन रुपमा खुलासँग उनीहरु विमान लिएर दलबलसहित आए, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र विपक्षी दलका प्रमुखलाई भेटेर राजनीतिक संवाद गरे, त्यसले राम्रो सन्देश दिन्छजस्तो लाग्दैन।’

गोयल भारतीय वायु सेनाको विशेष विमान लिएर बुधबार दिँउसो नेपाल आएका थिए।

प्रा. खत्रीले भारतले नेपालसँगको सम्बन्धलाई सुरक्षाका आधारमा हेर्न थालेको देखिएको बताए।

‘सन् १९५० को दशकमा चीनले तिब्बतमाथि नियन्त्रण गरेपछि उत्तरी भागको सुरक्षामा जोड दिएको थियो,’ उनले भने, ‘अहिले देखिएको विवादको कारण भारत त्यही अवस्थामा पुगेको देखिन्छ।’

उनले नेपाल र भारतबीच सुरक्षा तहमा नभई राजनीतिक तहमा संवाद सुरु हुनुपर्ने र त्यसका लागि प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन अनुमोदन प्रस्थान विन्दु हुनुसक्ने बताए।

‘ईपीजीको प्रतिवेदनमाथिको छलफल राजनीतिक तहमा संवाद सुरु गर्ने प्रस्थान विन्दु हुनसक्थ्यो,’ खत्रीले भने, ‘चीनसँग भारतको बढ्दो तनावको कारण राजनीतिक विषयलाई सुरक्षाले जितेको देखिन्छ।’

ईपीजी प्रतिवेदन तयार भएको दुई वर्ष हुँदा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने समय दिएका छैनन्। सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित नेपाल भारतको समग्र सन्धिसम्झौतामा गरिनुपर्ने सुधारबारे सुझाव दिन नेपाल भारतका चारचार जना विज्ञ राखेर प्रतिवेदन तयार पारिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईले भने गोयलको भ्रमणले दुई मुलुकबीचको विवाद संवादबाट हल हुने सन्देश दिएको दाबी गरे।

‘भारतीय पक्षकै चाहनामा भ्रमण भएको हो। भारतीय दूतावासले मन्त्रालयमा पत्र लेखेर विमान आउँदैछ भनेर अनुमति मागेको हो। उहाँले प्रधानमन्त्री भेट्न खोज्नु भयो र प्रधानमन्त्रीले समय दिनुभयो,’ भट्टराईले भने, ‘भेटमा नेपाल–भारत सम्बन्धको विविध पक्षमा छलफल भयो। भारतीय पक्षले नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको बतायो। यसले अहिले देखिएको विवादहरुलाई वार्ताबाट समाधान गर्ने सकिने सन्देश दिएको छ।’

२०७२ सालको नाकाबन्दीपछि चिसिएको नेपाल–भारत सम्बन्धमा न्यायोपन आउन सकेको छैन। भारतमा नेपालसँगको सम्बन्धबारे राजनीतिक मात्रै नभएर सुरक्षा निकायमा छलफल हुने गरेको छ।

भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा भारतीय सेनाको केन्द्रीय कमाण्डले गत वर्ष असारमा नेपाल मामिलामा गोष्ठी आयोजना गरेको थियो।

सेनाले विशेष अवस्थामा मात्रै आयोजना गर्ने यस्तो गोष्ठीमा नेपाल मामिलासम्बन्धी भारतीय विज्ञहरुको जमघट भएको थियो। सो गोष्ठीमा नाकाबन्दीपछि नेपालसँगको सम्बन्ध सुधार नभएको निष्कर्ष निकालेको थियो। नाकाबन्दीपछि नेपाली जनसाधारणमा बढेको भारतविरोधी भावनालाई कम गरेर आफ्नो सुरक्षा चासो सम्बोधन गर्न सकिने सहभागीहरुको धारणा थियो। त्यसका लागि सुरक्षा निकायहरुले पनि आफ्नो भूमिका बढाउनुपर्ने उनीहरुले धारणा थियो।

गत वर्ष भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको थियो। नेपालले भारतसँग रहेको परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत वार्ता गर्नका लागि दुई पटक प्रस्ताव गरेको थियो। तर भारतले त्यसलाई टार्दै आएको छ।

गत वैशाखमा भारतले अतिक्रमण गरेको नेपाली भूभाग हुँदै निर्माण गरेको सडकको उद्घाटन गरिएको थियो। नेपालले त्यसको विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो। यसै विषयमा भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले चीनतर्फ लक्षित गर्दै नेपालले अरुकै इसारामा विरोध गरेको आरोप लगाएका थिए।

त्यसलत्तै नेपालले अतिक्रमित लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेको थियो। त्यसलाई निशान छापमा राख्न संविधान पनि संशोधन गरिएको थियो। भारतको त्यसलाई अस्वीकार गरेपनि वार्ताबाटै समस्या समाधान गर्ने जनाएको थियो।

सामरिक मामिलाका जानकार नेकपाका सांसद डा. दीपकप्रकाश भट्टले भारतले पहिलेजस्तो सीधै आन्तरिक मामिलामा हात हाल्न सक्नेअवस्था नभएको बताए। भारतले भुटानलाई गर्नेजस्तो व्यवहार नेपालले नसहने उनको भनाइ छ।

‘गोयलको भ्रमणको एजेन्डा र उदेश्य थाहा भएन,’ भट्टले भने, ‘तर नेपालको अवस्था विगतको जस्तो कमजोर भने छैन। राष्ट्रिय शक्ति बलियो र चनाखो भएको अवस्था छ। हिजोको जस्तो भुटानलाई गरेको जस्तो व्यवहार नेपालले सहँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .