विनासकारी भूकम्पपछि पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको आज (बुधबार) उद्घाटन हुँदै छ। दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम छ।
१२ वैशाख २०७२ मा गएको विनासकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सकिएकाले आज उद्घाटन गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
२ माघ २०७२ मा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्। शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको हो।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गरिएको छ। यो मन्दिर प्रताप मल्लको पालामा बनाइएको हो।
विस १९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणले रानीपोखरीको पुनर्निमाण गरेको हो। रानीपोखरीको उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन्।
प्रतिक्रिया