ad ad

राजनीति


अबको यात्रा गरिबी अन्त्य र समृद्धितर्फ: प्रधानमन्त्री

अबको यात्रा गरिबी अन्त्य र समृद्धितर्फ: प्रधानमन्त्री

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ४:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिबार शुभकामना सन्देश दिँदै ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका हुन्।

सन्देशमा गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ।

‘गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सक्रिय छौं,’ सन्देशमा ओलीले भनेका छन्, ‘गरिबी निवारणका यी लक्ष्य हासिल गर्न सर्वसुलभ आधुनिक पूर्वाधार एवं मानव पूँजी निर्माण, उच्च र दीगो उत्पादन तथा उत्पादकत्व वृद्धि, उच्च र समतामूलक राष्ट्रिय आय निर्माण गर्न हामी योजनाबद्ध ढङ्गले अगाडि बढिरहेका छौँ।’

सन्देशमा मानव अधिकारको संरक्षण, समावेशी एवं न्यायपूर्ण समाजको निर्माण, सन्तुलित एवं दीगो विकासमा आशातीत सफलता प्राप्त गरिरहेको दाबी गरिएको छ।

सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडिबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई मुलुकभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न अनवरत प्रयास गरिरहेको उल्लेख छ।

आर्थिक सामाजिक रूपमा पछाडि परेका जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने, सबै प्रकारका साधन स्रोत र अवसरमा पहँुच सुनिश्चित गर्ने, आत्मसम्मानपूर्वक बाच्ने र मानव अधिकारको संरक्षण गर्दै जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक सक्रिय रहेको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेको स्वीकारेका छन्। उनले विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आगामी बाटो तय गरेको बताएका छन्।

‘हामीले गरिबी निवारण नीति, १५औँ योजना, दीगो विकास लक्ष्य, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजना तय गरिसकेका छौँ’, सन्देशमा भनिएको छ, ‘निरपेक्ष गरिबीको रेखामुनी रहेको १८.७ प्रतिशत जनसङ्ख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशतभन्दा तल सीमित गर्दै आगामी २३ वर्षभित्र शून्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने सङ्कल्प गरेका छौँ।’

मुलुकको समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव रहेको उल्लेख गर्दै उनले परिपूर्ण लोकतन्त्रले राजनीतिक अधिकार र स्वतन्त्रता, अधिकार र अवसरमा न्यायोचित पहुँच, सामाजिक न्याय र समानता, सुशासन, भयरहित र सुरक्षित तथा मर्यादित जीवन सुनिश्चित गर्ने बताएका छन्। ‘विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौँ नेपाली गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भए,’ सन्देशमा भनिएको छ।

‘विगतमा हाम्रो देश भित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भारइरसको यस विश्वव्यापी महामारीले भत्काएको विश्व अर्थव्यवस्थाले उत्पन्न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रो आफ्नै उत्पादन प्रणालीले सङ्कटको सामना गर्ने सामथ्र्य राख्ने थियो,’ सन्देशमा भनिएको छ, ‘हाम्रो जनशक्तिलाई दक्षता तथा सीप पलायनबाट जोगाउँदै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने फलदायी उद्यमशीलताको बाटोमा अग्रसर हुन सबैमा आह्वान गर्दछु।’

मुलुकको जनशक्तिलाई मुलुक निर्माणमा सदुपयोग गर्ने र समाजिक हितको सकारात्मक बाटोतर्फ डो¥याउन सचेत अभियानको आवश्यकता रहेको भन्दै ओलीले गरिबीबाट समृद्धितर्फ अगाडि बढ्न नसके जनशक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनूचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा रहने उल्लेख गरेका छन्।

अहिले सरकार रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेकोसमेत ओलीले बताएका छन्।

‘कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पंक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौँ,’ सन्देशमा भनिएको छ, ‘यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ। राष्ट्रको यस सङ्कल्पमा समाजका सम्पूर्ण तप्काको रचनात्मक सहभागिता हुनेछ भन्ने मैले आशा गरेको छु।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .