ad ad

राजनीति


प्रदेश २ सरकार परिवर्तन गर्न सत्तारुढ जसपाकै सांसदको माग, अध्यक्ष यादव सकारात्मक

प्रदेश २ सरकार परिवर्तन गर्न सत्तारुढ जसपाकै सांसदको माग, अध्यक्ष यादव सकारात्मक

शैलेन्द्र महतो
असोज २९, २०७७ बिहिबार १२:३८,

प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीका सांसदहरु आफ्नै सरकारको विपक्षमा उभिएका छन्।

जसपा प्रदेश २ सांसदहरुको बिहीबार भएको बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको चर्को आलोचना भएको छ।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म जनकपुरस्थित मुख्यमन्त्री निवासमा बसेको प्रदेश सांसदको बैठकमा सांसदहरुले सरकार परिवर्तन गर्नुपर्ने बताएका हुन्। बैठकमा बोल्ने अधिकांश सांसदहरुले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको दावी गरेका थिए।

राजपाबाट समाजिक विकास मन्त्री रहेका नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले छोरालाई नै राखेर मन्त्रालय चलाएको भन्दै चर्को आलोचनासमेत भएको बैठकमा सहभागी एक सांसदले बताए।

ती सांसदका अनुसार सरकार पूर्ण असफल भएको तथा केही मन्त्रीहरु गतिविधिले पार्टीमाथि कलंक लागेको बताउँदै अधिकांश सादंसदहरुले सरकार परिवर्तन गर्नुपर्ने बताएका थिए भने केही सांसदले सरकार पुनर्गण्र्ठन गर्नुपर्ने माग गरेका थिए।

बैठकमा सहभागी अर्का प्रदेश सांसदले भने बैठकमा २४ जना बोलेकोमा १९ जना सरकार फेर्ने पक्षमा रहेको बताए। ‘बैठकमा २४ जना सांसदहरुले बोलेका छन् जसमध्ये १९ जनाले सरकार नै फेर्नुपर्ने जोडदार माग गरेका छन्’, ती सांसदले नेपालखबरसँग भने, ‘तीन जनाले सरकार बचाऊमा र र्दुइ जनाले तटस्थ रुपमा आफ्ना भनाइहरु राखेका छन्।’

संघीय समाजवादी फोरम र जनता समाजवादी पार्टीबीच एकतापछि जनता समाजवादी पार्टी भएको ६ महिना भइसकेको छ। तर, प्रदेश २ मा फोरम र राजपाले प्रदेशसभामा पुरानै हिसाबले प्रतिनिधित्व गर्दै आएका छन्।

बैठकले अध्यक्ष यादवकै अनुसार जसपा संसदीय दलको नेता छनोट गर्न ५ सांसदहरु रहेको एक विधायन समिति गठन गरेको छ। समितिमा प्रदेश सांसद मनिष सुमन, उपेन्द्र महतो, रामअशिष यादव, प्रमेश्वर साह र रानी शर्मा तिवारी रहेको ती प्रदेश सांसदले जानकारी दिए।

ती सांसदका अनुसार उक्त समितिले जसपा संसदीय दलको विधान १५ दिनभित्र पार्टीको केन्द्रीय समितिमा पठाउने र त्यहाँबाट अनुमोदन भएपछि सोही अनुसार संसदीय दलको नेता कायम गरी सरकार पुनर्गठन हुने छ।

सरकार फेर्नुपर्ने पक्षमा अध्यक्ष उपेन्द्र यादवसमेत सकरात्मक रहेको तथा मुख्यमन्त्री राउतले पार्टीबाट जो संसदीय दलका नेता बने पनि स्वीकार गर्ने प्रतिवद्धता गरेको संसदहरुले बताएका छन्।

बैठकमा जसपाका ३ सांसद बाहेक सबैको सहभागिता रहेको जनाइएको छ।

जसपाका एक केन्द्रीय नेताले संसदीय दलको विधान जति सक्दो चाँडो अनुमदोन भयो त्यति नै चाँडै प्रदेश सरकार परिवर्तन हुने दावी गरे। ‘दीपावली भित्रै विधान बन्यो भने छठपश्चात् प्रदेश २ को सरकार परिवर्तन निश्चित छ’, ती नेताले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .