ad ad

राजनीति


मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ताका लागि निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ताका लागि निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह

नेपालखबर
असोज २६, २०७७ सोमबार ७:१,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

सोमबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको स्प्रिटबाहिर गएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको र सो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन आग्रह गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णालीमा प्रदेश सरकारमा जे भएको छ त्यो पार्टी एकता र स्थायी कमिटीका बैठकको भावना विपरित भएको भन्दै मुख्यमन्त्रीविरुद्ध भएको प्रस्ताव फिर्ता हुनुपर्ने धारणा राखेका थिए।

‘कर्णाली प्रदेशमा जे भएको छ त्यो पार्टी एकता र स्थायी कमिटीको बैठकका निर्णयको भावनाविपरित छ भन्दै अध्यक्ष प्रचण्डले सो प्रस्ताव फिर्ता लिनका लागि सम्बन्धित नेताहरुलाई निर्देशित गर्न आग्रह गर्नु भएको छ,’ प्रचण्डनिकट एक नेताले भने।

भेटमा प्रधानमन्त्री ओलीले पनि कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध जे प्रस्ताव आएको छ त्यो ठिक नभएको बताएको ती नेताले जानकारी दिए।

बिहान ९ बजेर ४० मिनेटबाट दुवै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

‘आजको बैठक मूलतः कर्णालीमा विकसित घटनाक्रमबारेमा केन्द्रित रह्यो,’ ती नेताले भने।

प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गरेका प्रचण्डले बिहान आफ्ना पक्षका वर्षमान पुन, जनार्दन शर्मा लगायतका कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग परामर्श गरेका थिए।

स्रोतका अनुसार सो परामर्शपछि अविश्वासको प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने र त्यहाँबाट समाधान ननिस्के अन्य विकल्पमा जानुपर्ने सुझाव आएपछि प्रचण्ड बालुवाटार पुगेका हुन्।

प्रचण्डले कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे अन्य प्रदेशमा पनि त्यस्तै गतिविधि देखिने र यसले एकतामा समस्या पार्ने कुरामा सचेत रहनुपर्ने बताएका थिए।

आइतबार कर्णाली प्रदेशमा आफ्नै पार्टीका १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलमा पेस गरेपछि नेकपाभित्र नयाँ खालको विवाद देखिन थालेको छ।

कर्णाली प्रदेश सभामा नेकपाको कुल ३३ सिट रहेको छ। जसमध्ये २० सिट पूर्वएमाले, १३ सिट पूर्वमाओवादी समुहको छ। पूर्वएमाले मध्ये ओली निकट १२ र नेपाल निकट ८ सांसद रहेका छन्।

याे पनि: 
मन्त्री नियुक्ति र कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावबारे ओली–प्रचण्ड छलफलमा

पूर्वएमाले एकढिक्का भएपछि तेस्रो प्रयासमा शाहीविरुद्ध अविश्वास प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .