प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनुशनरत डा. गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतिको स्वागत गरेको छ।
आइतबार कांग्रेसले एक विज्ञप्ति प्रकाशित गर्दै गएराति भएको सहमतिको स्वागत गर्दै उल्लंघनको नजिर दोहोरिन नदिन खबरदारी जरुरी रहेको छ। कांग्रेसले सहमतिका लागि दबाब दिनका लागि आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएको छ।
‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ। स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले डा. केसीले सारेका मुद्दामा सरकार पूर्वाग्रही रहे पनि चौतर्फी दबाबपछि वार्ता समिति बनाउँदै सहमतिमा पुगेको बताएको छ। विगतमा सहमति उल्लंघन गरिएको नजिर दृष्टिगत गर्दै खबरदारी जारी राख्न कांग्रेसले सबैमा अपिलसमेत गरेको छ।
‘वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको थियो। नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा. केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘अतः थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ।’

प्रतिक्रिया