राजनीति


छापामार शैलीमा राजधानीको प्रस्ताव ल्याइयो : कनौडिया

छापामार शैलीमा राजधानीको प्रस्ताव ल्याइयो : कनौडिया

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार ८:२७,

प्रदेश ५ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेशसभामा घटेको घटना परिस्थिति र उत्तेजनका कारण भएको प्रस्ट पारेको छ।

मंगलबार प्रदेशसभा बैठकको सुरुमै बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले आफूहरुको चाहना मुठभेड गर्ने नभइ असहमति व्यक्त गर्ने मात्रै भएको बताए। उनले सोमबार संसदमा भएको घटना तत्कालीन परिस्थिति र उत्तेजनाका कारण घटेको बताए।

कानुन मन्त्री कुलप्रसाद केसीले पनि उत्तेजनामा आएर अपशब्द बोलेको र कांग्रेस सांसदले उत्तेजनामा आएर कुर्सी, टेवल र माइक तोडफोड गरेको उनको भनाइ थियो।

‘हामीले मुख्यमन्त्रीलाई एक/दुई दिन होल्ड गरौं, सबैको अपनत्व हुनेगरी अघि बढौं भनेका थियौँ, तर उहाँले मान्नुभएन। त्यसैले हिजोको घटना घट्यो’, उनले भने। हिजो संसदमा कांग्रेस सांसदले तोडफोड गरेका थिए भने मन्त्री केसीले रोस्टमबाट मर्यादापालकलाई विरोध गर्ने सांसदलाई घिसारेर बाहिर निकाल भन्नेजस्ता उत्तेजनात्मक शब्द बोलेका थिए।

नेता कनौडियाले सरकारले ल्याएको प्रस्तावमा कुनै विरोध नभएको तर लोकतान्त्रिक विधिबाट प्रस्ताव नल्याउँदा विरोध भएको जनाए। ‘यो सरकारसँग दुई तिहाइको बहुमत छ। विधि कानुन, सबै मिचेर छापामार शैलीमा राजधानीजस्तो प्रस्ताव ल्याउनुमा हाम्रो विरोध हो’, उनले भने।

सबै बसेर सहमतिमा प्रस्ताव ल्याउन सकिने भए पनि आफूहरुसँग कुनै सल्लाह नगरिएको उनले बताए। ‘हामी ठूलाठूला राजनीतिक परिवार्तनमा मिलेर अघि बढेका छौं, तर जबरजस्ती गर्नु ठीक होइन। हिजो बन्दुक उठाएका माओवादीहरु पनि मूल धारमा आएका छन्। हिजो संसदीय व्यवस्था नमान्ने माओवादीहरु आज हामीसँग संसदमा हुनुहुन्छ। यो सबै सहमतिमा भएको हो’, नेता कनौडियाले भने।

प्रजातन्त्रमा पार्टी बलियो नभए स्थायित्व र राजनीति पनि बलियो नहुने भन्दै उनले प्रदेशमा सहयोगी प्रतिपक्ष हुँदाहुँदै मुख्यमन्त्री शंकर पोखरेललाई सबै मुद्दामा सहयोग गर्दागर्दै राजधानीको विषयमा पेलेर अघि बढेको आरोप लगाए।

‘उहाँले दुई तिहाइ र बहुमतको दम्भमा हामी पास गराउँछौं भनेर लाग्नु भयो। मुख्यमन्त्री शालीन भए पनि काम गराईमा उहाँको मनमा दोष देखियो’, उनले भने। प्रतिपक्ष र सत्तापक्ष एकजुट भएर अघि जानुपर्नेमा त्यसो नभएको उनको गुनासो छ।

‘हामी जातीय र क्षेत्रीय पार्टी होइनौं। नेकपा र कांग्रेस दुबै दलका सबै जिल्लामा नेता कार्यकर्ता छन्, त्यसैले जहाँ राजधानी बनाए पनि सहमति हुनुपर्छ’, उनले भने, ‘हामीलाई सिंगो प्रदेशको चिन्ता छ। रुपन्देही, दाङ, कपिलवस्तु सबै क्षेत्रको हामी सम्मान गर्छौं। व्यक्तिगत स्वार्थभन्दा विधि प्रत्रियामा कुरा हो। विधि प्रक्रियामा जाऔं।’

१३ जनाको समिति बनाएको तर समितिले बनाएको राय सार्वजनिक नगरेकोप्रति उनले आक्रोस पोखे। राजधानी कसैको रहरको विषय बनाउन नहुने बताउँदै उनले राजधानी बनाउँदा भोलिका पुस्तालाई हेरेर बनाउनु पर्ने धारणा राखे। ‘ताकी भोलिका पुस्ताले हामीलाई गाली नगरोस्। सबैलाई पायक पर्ने ठाउँमा बनाउनुपर्छ, कसैको राजनीतिक अभिष्ट पूरा गराउनु हुँदैन। हामी भेगीय स्वार्थबाट माथि उठेर १२ जिल्लालाई हेरर बनाउनुपर्छ’, उनले भने।

मुलुकमा कोरोना महामारी व्यापक भएको र मुलुकको ढुकुटी रित्तिने अवस्था आएकाले यस्तोबेला राजधानी सार्नु ठीक नभएको उनले बताए। राजधानी सार्दा सय अर्ब लाग्ने भएकाले त्यो बजेट नभएको उनले बताए। अब प्रस्ताव थाती राखेर अघि बढ्नु पर्ने उनले माग गरे। उनले सभा संचालनमा कांग्रेसले सहयोग गर्ने जनाउँदे आन्दोलनका क्रममा पक्राउ परेका पार्टी कार्यकर्तालाई रिहा गर्नसमेत माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .