राजनीति


ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै नेकपामा फेरि विवाद

ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै नेकपामा फेरि विवाद

सागर न्यौपाने
असोज १५, २०७७ बिहिबार १३:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा महत्वपूर्ण नियुक्ति गरेको भन्दै सत्तारुढ नेकपामा फेरि विवाद बल्झिएको छ।

प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी एकलौटी रुपमा केही राजनीतिक नियुक्तिको निर्णय गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय र स्थायी समिति सदस्यहरु असन्तुष्ट भएका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस गरेको थियो।

निरन्तर संवादमा रहेका कार्यकारी अध्यक्षलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्री ओलीले राजदूत नियुक्ति गरेपछि नेताहरुले असन्तुष्टि जनाएका हुन्।
यसबारेमा सचिवालयमा कुरा उठ्ने एक सचिवालय सदस्यले बताए।

‘राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डजी संवादमा हुनुहुन्छ तर, यो नियुक्तिको विषयमा उहाँँसँग पनि सल्लाह गरिएको रहेनछ,’ ती सचिवालय सदस्यले नेपालखबरसँग भने, अब बैठकमा त्यसबारे कुरा उठ्नेछ।’

नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्रीको पछिल्लो कदम स्थायी समितिको निर्णयविपरीत रहेको भन्दै यसले पार्टीमा आघात पर्ने बताए।

नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ। देश,जनता र पार्टीहितमा आघात पर्नसक्छ। जिम्मेवारहरूको ध्यान जाओस्,’ रावलले बिहीबार साँझ ट्विट गरेका छन्।

मंगलबार अध्यक्षद्वयको संवादमा ओलीले कसैको नामै नलिई केही नियुक्तिहरु तत्काल गर्नुपर्ने बताएका थिए। तर, प्रचण्डले नियुक्ति प्रक्रिया अगाडि बढाउनुअघि सचिवालयमा छलफल गर्नुपर्ने बताएको प्रचण्डनिकट स्रोतले बतायो।

पार्टीको सबै कामको जिम्मेवारी सहितको कार्यकारी अधिकार पाएपछि प्रचण्डले पार्टी काममा ओलीसँग सल्लाह गर्ने र ओलीले सरकार सञ्चालनका महत्वपूर्ण निर्णयहरु प्रचण्डसँगको परामर्शमा गर्ने स्थायी समितिको भदौ २६ गते बसेको बैठकले निर्णय गरेको थियो।

यसैबीच पार्टी एकताको बाँकी काम सक्ने कार्ययोजना ल्याउन नेतृत्वलाई दिइएको १० दिनको समय भोलि सकिँदै छ। ओली र प्रचण्डबीच अझै सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .