राजनीति


नायब सुब्बाका रूपमा परराष्ट्र प्रवेश गरेका बैरागीको यस्तो छ मुख्य सचिवसम्मको यात्रा

नायब सुब्बाका रूपमा परराष्ट्र प्रवेश गरेका बैरागीको यस्तो छ मुख्य सचिवसम्मको यात्रा

मणि दाहाल
असोज १५, २०७७ बिहिबार १३:२७,

करिब सात वर्ष परराष्ट्र मन्त्रालयको प्रशासनको नेतृत्व गरेका शंकरदास बैरागी समग्र निजामति प्रशासनकै मुख्य नेतृत्वमा पुगेका छन्।

परराष्ट्र मन्त्रालयबाट निजामति प्रशासनको शीर्ष नेतृत्वमा पुग्न विरलै आउने अवसर बैरागीले पाएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो।

परराष्ट्र सचिवबाट कार्यकाल पुरा गरेर अवकास पाउनुभन्दा एक साताअघि ५५ वर्षे बैरागी मुख्य सचिव बनेका हुन्।

मुख्यसचिव नियुक्त नभएको भए उनले परराष्ट्र सचिवको पाँच वर्षे कार्यकाल पुरा गरेर अर्को हप्ता अवकास पाउने थिए। उनी सचिवकाे पाँच वर्षे कार्यकाल पुरा गरी २३ गते सेवा निवृत हुने तय थियाे।

उनी २०७२ असोज २४ गते परराष्ट्र सचिव बनेका थिए। त्यसअघिको १८ महिना बैरागीले निमित्त र कार्यवहाकको रुपमा परराष्ट्र सचिवको जिम्मेवारी निर्वाह गरिरहेका थिए। 

मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुभन्दा तीन साताअघि बिहीबार राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिव बन्ने बाटो खुलेको हो।

बिहीबार बसेको बैठकले सुरुमा कार्तिकको पहिलो सातासम्म कार्यकाल रहेका मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत गर्‍यो। त्यहि बैठकले उनैलाई बेलायतको राजदूतमा सिफारिस गर्‍यो र सोहि बैठकले मुख्य सचिवमा बैरागीलाई बढुवा गरेको थियो।

पूर्वगृहसचिव गोबिन्द कुसुमले मुख्यसचिव छाड्नेबित्तिकै जसरी राजदूतको जिम्मेवारी दिइएको छ, त्यसबाट सरकार रेग्मीको कामबाट खुशी रहेछ भनी बुझ्नुपर्ने बताए।

‘यो नियुक्तिको प्रक्रियालाई बाहिरबाट हेर्दा मुख्यसचिवको भूमिकाबाट सरकार खुशी छ भन्ने देखिन्छ,’ कुसुमले भने।

कर्मचारी संगठनका एक पदाधिकारीले भने बिहीबारको मन्त्रिपरिषदबाट भएका निर्णयले प्रशासन संरचनाको प्रणाली भत्काउने काम गरेको बताए।

‘एउटा प्रशासकले समय नपुग्दै छाड्ने र त्यहि बीचमा पदमुक्त हुन लागेको अर्को प्रशासकको बढुवा हुने जुन रुपमा सेटिङमा काम भएको छ, त्यसले निजामति प्रशासनको स्वभाविक प्रक्रियालाई भत्काउने काम गरेको छ। यसले प्रशासनमा राम्रो परिणाम दिँदैन,’ संगठनका ती पदाधिकारीले भने।

बैरागीसँगै सचिवहरु केदार अधिकारी र कृष्णमोहन सापकोटा मुख्यसचिव हुने प्रतिस्पर्धामा थिए।

रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए बैरागी त्यसअघि नै सेवानिवृत भई बाहिरइसकेका हुन्थे भने सचिवहरु चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिवका दाबेदार हुनेथिए।

‘नेपालको निजामति सेवामा कसैले राजीनामा दिए रोकेर राख्ने अभ्यास छैन। पुरै कार्यकाल पुरा गर्दा कसैलाई फाइदा हुन्थ्यो होला। त्यो राजीनामा दिने व्यक्तिको विषय भयो, ’ पूर्वसचिव गोविन्द कुसुमले भने, ‘सुविधा लिनका लागि कार्यकालको अन्तिम समयमा आएर राजीनामा दिने चलन पहिले देखिको हो।’

५८ वर्ष पुग्न लागेको कर्मचारीले त्यसअघि नै राजीनामा दिएभने ६० वर्ष सम्मकै सेवा सुविधा पाउने प्रावधान छ।

कर्मचारीहरुले सोहि प्रावधानका आधारमा केहि दिनअघि राजीनामा दिएर त्यो सुविधा लिने अभ्यास बढ्दो छ। यसका कारण पूर्वकर्मचारीलाई दिनुर्ने सुविधाको भार राज्यमाथि बढ्दाे छ।

अन्तिमसम्म नियमित तलब खाने र सेवानिवृत हुनुभन्दा केहि दिनअगाडि राजीनामा दिएर थप सुविधा समेत लिने बढ्दो अभ्यासको आलोचना हुँदै आएको छ।

मुख्यसचिव रेग्मीले पनि सोहि प्रावधानअनुसार केहि हप्ताअघि राजीनामा दिँदा एकातर्फ उनले थप सुविधा पाउने भएका छन् भने अर्कोतर्फ बैरागीलाई मुख्यसचिव बन्ने अवसर प्राप्त भएको छ। त्यतिमात्र होइन रेग्मीले राजीनामा दिएकै दिन उनले महत्वपूर्ण राष्ट्रमा नेपालको राजदूत भएर जाने मौका पनि पाएका छन्।

मन्त्रालय स्रोतका अनुसार राजनीतिक रुपमा कतै पनि नखुलेका बैरागी सचिव रहँदा पनि बिभिन्न नियोगहरुमा राजदूत बन्ने अवसर पाएका थिए। तर उनले त्यसमा जान चासो भने देखाएनन्। उनले सचिवको रुपमा पुरै कार्यकाल परराष्ट्रको प्रशासनको नेतृत्व गरे।

स्रोतका अनुसार उनलाई न्युयोर्कमा राष्ट्र संघको स्थायी प्रतिनिधि र भारतका लागि नेपालका राजदूत बनेर जाने प्रस्ताव आएको थियो।

‘परराष्ट्र सचिव बनेपछि कमाई हुने ठाउँमा अवसर पाउनासाथ राजदूत भएर जाने प्रचलन देखिन्थ्यो। तर बैरागीले पुरै कार्यकाल सचिवको जिम्मेवारीलाई नै प्राथमिकता दिनुभयो,’ परराष्ट्रका एक अधिकारीले भने।

तर पुरै कार्यकाल सचिवको रुपमा मन्त्रालयमै बिताए पनि उनले परराष्ट्र सेवामा उल्लेख्य सुधार गरेको कुनै गतिलो उदाहरण भने देखाउन नसकेको परराष्ट्रकै एक अधिकारीले बताए।

यति लामो समय मन्त्रालयमा रहँदा पनि कुनै महत्वपूण नीति ल्याएर त्यसलाई कार्यान्वयन गराउने चासो नदिएको आरोप उनलाई लाग्ने गरेको छ।

‘प्रधानमन्त्रीले विश्वास गरेको र सहज लागेको मानिस मुख्य सचिव बनाउने गरिएको छ, त्यस्तो रोजाइमा बैरागी पर्नुभयो,’ कर्मचारी युनियनका अर्का एक नेताले भने।

उनले निजामति प्रशासनका अन्य सेवा र परराष्ट्र सेवाबीच स्थायी द्वन्द्व रहेको र त्यो द्वन्द्वको बीचमा बैरागी पिसिने संभावना रहेको समेत आकलन गरे।

‘परराष्ट्रका कर्मचारीमा आफूलाई फरक बर्ग र अरुभन्दा हामी जान्ने भन्ने भावना हुने भएकोले सो कुराको झल्को उनी मुख्यसचिव हुँदा देखिन सक्छ,’ उनले भने।

तर पूर्वसचिव कुसुम भने मुख्यसचिव बनिसकेपछि जुन सेवाबाट आएपनि त्यस्तो समस्या नआउने बताउँछन्।

तत्कालीन परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई न्युयोर्कस्थित राष्ट्र संघको स्थायी प्रतिनिधि बनेपछि जेनेभा नियोगमा रहेका बैरागीलाई मन्त्रालयको नेतृत्व गर्नका लागि बोलाइएको हाे।

बैरागीलाई सहसचिवमध्ये सबैभन्दा बरिष्ठ भएका कारण बाेलाइए पनि सचिव हुनका लागि तोकिएको सेवा पुरा नगरेका कारण केहि समय सचिव हुन पाएका थिएनन्।

कुनै पनि सहसचिव सचिवमा बढुवा हुनका लागि सहसचिवको रुपमा पाँच वर्ष सेवा गर्नुका साथै ३० दिनको उच्चस्तरीय कार्यसम्पादन अनिवार्यरुपमा पुरा गरेको हुनुपर्छ।

२०४४ सालमा नायब सुब्बाका रुपमा परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका बैरागी त्यतिबेला वरिष्ठतम् सहसचिव भएपनि सो अवधि पुरा गर्न भने पाएका थिएनन्। त्यसैले सुरुमा उनले निमित्त सचिवको रुपमा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेका थिए।

कसरी बने बैरागी?
शंकर २०२२ साल माघ १३ गते पर्वतको मल्लाजमा जन्मिएका हुन्। उनका पुस्ताको पुरानो थर खनाल हो।

धेरै पुस्ताअघि देखिनै उनको परिवारले बैरागी लेख्दै आएको हो। त्यहाँका केहि परिवारले वैष्णव धार्मिक परम्परा अपनाएपछि उनीहरुले बैरागी लेख्न थालेका हुन्।

‘हाम्रो धेरै पहिलेकाे पुस्ताले गोत्र त्यागेर भगवानको दास भएको हो। वैष्णव बनेका हाम्रो अच्युत गोत्र हो,’ पर्वत ज्ञादीका गोपालदास बैरागीले भने, ‘पुस्तौं पुरानो परम्पराअनुसार नै हामीले बैरागी लेख्न थालेका हौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .