सर्वत्र चासोका रुपमा हेरिएको दुई नियुक्तिका प्रस्ताव आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसूचीमा पनि परेका छैनन्।
आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने अनुमान गरिएको थियो। तर मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा कुलमान नियुक्तिको एजेन्डा नपरेको एक मन्त्रीले बताए।
कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राती सकिएको छ भने उनलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच सहमति भैसकेको बताइएको थियो।
आइतबार कार्यकाल सकिए पनि पुनः नियुक्ति हुने सहमति भएकाले कुलमानलाई प्राधिकरणबाट औपचारिक विदाई गरिएको छैन।
त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमा जानकारी दिएका थिए। वामदेवलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन।
‘हामीले पाएको आजको मन्त्रीपरिषद बैठकको एजेण्डा सूचीमा वामदेव र कुलमान दुवैको नियुक्तिको विषय रहेनछ, प्रधानमन्त्रीले सिधै प्रस्ताव गरेर निर्णय गर्ने तयारी हो भने त्यो पछि नै थाह होला’, ती मन्त्रीले भने।
आजको बैठकले सरकारको प्रवक्ता तोक्ने लगायत महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया