राजनीति


रहेनन् बीपीको शवयात्राका कमान्डर

रहेनन् बीपीको शवयात्राका कमान्डर

वाशुदेव मिश्र
भदौ २८, २०७७ आइतबार १५:३६,

नेपाली कांग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’को निधन भएको छ।

२०१९ सालमा जन्मेका गुरुङ २०३९ सालमा बीपीको कोइरालाको शवयात्राको व्यवस्थापनमा खटिएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि उनको निकट चिनजान थियो।

पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका गुरुङको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो। उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए।

उनलाई मिर्गौला र कलेजोसम्बन्धी समस्या थियो।

पोखरामा उनीसम्बन्धी अनेकौँ किस्सा सुनिन्छन्– उनी आँटिला थिए, विद्रोही थिए। कुनै समय उनी बस कन्डक्टर थिए र तलब पाउनासाथ नयाँ कपडा फेर्थे। तत्कालीन नेता तीर्थ श्रेष्ठको संगतबाट बीपीका रचना पढेका उनी पछि कांग्रेस बनेका थिए।

राजनीतिबाट कहिल्यै लाभ नलिएका उनलाई पछिल्लो चुनावमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सोच्दै नसोचेको बेला टिकट दिएका थिए।

‘म टिकट माग्न गएकै होइन, टिकट त मलाई पो दियो त!’ उनले टिकट पाएपछि भनेका थिए, ‘म त अर्कालाई पो टिकट माग्न गएको थियो त।’

यद्यपि उनले चुनाव जितेनन्। चुनावमा उनले चन्दा पनि लिएनन्।

‘म भाषण गर्ने मान्छे हैन, जनताको हलो जोत्ने हो,’ कास्कीको भदौरेमा जन्मेका गुरुङले पार्टी सभापति शेरबहादुर देउवा उपस्थित चुनावीसभामा भनका थिए, ‘म गरिबको छोरो हो, चन्दा लिएर भोजभतेर गर्नुछैन।’

एक शुभेच्छुक व्यापारीले सहयोगको लागि पठाएको एक लाख रुपैयाँ फिर्ता गरेको प्रसंग सुनाउने उनले त्यो बेला भनेका थिए,‘ आर्थिक सहयोग दिन चाहनेहरुलाई मैले धन्यवाद भनेर पठाएको छु।’

कांग्रेसको राजनीतिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, शेरबहादुर देउवासँग संगत गरेका नेता हुन् गुरुङ। तर, उनले आफ्नो राजनीतिक पहुँचलाई कहिल्यै व्यक्तिगत स्वार्थमा प्रयोग गरेनन्।

पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय गुरुङमाथि मण्डलेहरुले पटकपटक आक्रमण गरेका थिए। जसका कारण उनी घाइते समेत भएका थिए।

बहुचर्चित स्याङ्जा गोलीकाण्डमा बीपीलाई बचाउने जिम्मेवारी पनि उनले लिएका थिए। २०४८ सालको संसदीय चुनावमा महादेव गुरुङको प्रचारको क्रममा उनी र महादेवमाथि भएको सांघातिक आक्रमणको सामना पनि गरेका थिए। टारेका थिए।

गुरुङको सोमबार बौद्ध अघौं सदनमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ। उनकी एक श्रीमती र २ छोरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad