सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन्।
ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन्। मन्त्रीलाई भेटेपछि संक्षिप्त प्रतिकृया दिँदै अभियन्ता ढुंगेलले मल नल्याउने व्यक्तिहरुलाई कालोसूचीमा राखेर मात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग राखिएको बताए।
विगत लामो समयदेखि नेपाली किसानहरुले मलको अभाव भोगिरहेको सन्दर्भमा नेपालमा किन मल उत्पादन सुरु हुन सकेन? किसानहरुले कहिले समयमा मल पाउँछन्? भन्ने विषयमा पनि कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराइएको उनले बताए।
ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारवाहीको प्रकृया अगाडि बढेको जानकारी गराएको उनले बताए। सरकारले भदौ २० सम्म मल ल्याउने गरी गत पुसमा ठेक्का गरेको भएपनि समयमै मल नआउँदा किसानहरु मारमा परेका छन्। सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टिपल कम्पनीलाई सरकारले समयमै मल नल्याएपछि कारवाहीको तयारी गरेको छ।

प्रतिक्रिया