ad ad

राजनीति


वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त नगर्न विवेकशील दलको माग

वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त नगर्न विवेकशील दलको माग

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ६:३४,

विवेकशील नेपाली दलले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त नगर्न माग गरेको छ।

‘राष्ट्रिय सभामा राष्ट्रपतिबाट एक महिलासमेत तीन जना मनोनीत हुने व्यवस्था किन गरियो? पार्टी वा पार्टी भित्रको कुनै गुटको संकटमोचनका लागि? कि दलगत राजनीति भन्दाबाहिर रहेका प्रबुद्ध नागरिकहरू वा कुनै विषय–विज्ञलाई स्थान दिनका लागि?’ विवेकशील नेपाली दलका प्रदेश सभा सदस्य रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले राष्ट्रिय सभामा वामदेव गौतमको आवश्यकता किन परेको हो? के कारणले त्यहाँ वामदेवको अभाव खड्कियो? उनले दुई वर्ष कुरेर आउँदो निर्वाचनको प्रतीक्षा गर्न किन नसकेका? नेपाली नागरिकहरूलाई यसको स्पष्ट जवाफ नेकपाको सचिवालयले दिनु जरुरी छ।’

गौतमलाई राष्ट्रिय सभाका निम्ति सिफारिस गर्नु अनुचित हुने भन्दै सो दलले प्रधानमन्त्रीलाई त्यसो नगर्न आग्रह गरेको छ।

सो दलले राष्ट्रिय सभामा मनोनीत हुने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे गम्भीर ढङ्गले विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको पनि ध्यानाकर्षण गराएको छ।

गौतमको नियुक्ती नगरी नहुने कारण के भनी सो दलले बिभिन्न प्रश्न उठाएको छ।

‘राष्ट्रिय सभालाई प्रतिनिधिसभा वा अन्य तहका प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्तिहरू व्यवस्थापन गर्ने थलो किन बनाइँदै छ? राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले दिने सन्देश के हो?,’ सो दलले प्रश्न उठाएको छ, ‘यस्तो क्रियाकलापले राष्ट्रिय सभाको गरिमालाई घटाउँछ कि बढाउँछ? यस प्रकरणले सत्तासीन पार्टीका नेताहरू लाभको पदबिना एक छिन पनि बस्नै नसक्ने हो त? भन्ने प्रश्न पनि खडा भएको छ। यसअघिका यस्तै प्रकृतिका मनोनयनहरू गम्भीर रूपले विवादित र आलोचित भैसकेको दृष्टान्त बिर्सेर पुनः गैर संवैधानिक र अलोकतान्त्रिक कार्यमा लागिरहने यो कम्युनिस्ट सरकारबाट मतदाता र आम नागरिकहरू आजित भैसकेको अवस्था छ।’

गतसाता बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा गौतमलाई नियुक्त गर्न सिफारिश गरिने जानकारी गराएका थिए।

राष्ट्रिय सभामा तीन सदस्यलाई सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। सो पदमा नियुक्त डा. युवराज खतिवडाको दुईवर्षे कार्यकाल सकिएपछि हाल सो पद रिक्त छ।

सो पदमा उनको नाम सरकारले सिफारिश गरिसकेको भने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .