रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेशमन्त्री पोम्पिओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरुपमा परिणत गरेको बताए।
उनले भने, “उहाँका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल छन्। राष्ट्रपति ट्रम्पका साहसिक प्रयासले विश्वका सबै भागमा प्रभाव पारेका छन्।”
विदेशमन्त्री पोम्पिओले चिनियाँ कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी नीतिलाई नियन्त्रणमा राख्न राष्ट्रपति ट्रम्पले दबाब सिर्जना गरेको बताउँदै झण्डै आठ लाख मानिसको मृत्यु हुनेगरी फैलिएको कोरोना भाइरसका लागि चीनलाई जिम्मेवार ठहर्याए।
राष्ट्रपति ट्रम्पले चीनसँग भएका असन्तुलित व्यापार सम्झौता खारेज गरेको, विदेशतर्फ स्थानान्तरित भइरहेको रोजगारी अमेरिकामा फिर्ता हुन थालेको तथा अमेरिकाविरोधी गुप्तचर अभियानलाई बन्द गराउन कुटनीतिक पहल गरिएको पनि उनले बताए।
पोम्पिओले उत्तर कोरियाली नेतासँग वार्ताको वातावरण बनाउन राष्ट्रपति ट्रम्प सफल भएको बताउँदै भने, “उत्तर कोरियामा पछिल्ला वर्षहरुमा कुनै आणविक परीक्षण भएनन्, लामो दूरीका क्षेप्यास्त्र परीक्षण भएनन् र उत्तर कोरियामा बन्दी जीवन बिताइरहेका अमेरिकीहरु आफ्ना घर फर्किन पाएका छन्।”
पोम्पिओले राष्ट्रपति ट्रम्पकै कारण तेल अभिभमा रहेको अमेरिकी राजदूतावास मे २०१८ मा जेरुसेलम स्थानान्तरित गरिएको जानकारी दिए। यहूदी नागरिकका लागि जेरुसेलम वास्तविक राजधानी रहेको पनि उहाँले बताए।
सामान्यतया, अमेरिकी विदेशमन्त्रीले पार्टीको सम्मेलनलाई सम्बोधन नगर्ने विगतको परम्परा तोड्दै विदेशमन्त्री पोम्पिओले राष्ट्रपतिका विदेश नीतिको बचाउ गरेका थिए। रासस/एएनआई

प्रतिक्रिया