राजनीति


चिनियाँ नौसेनाले सैन्य अभ्यास गरिरहँदा नो–फ्लाई जोनमा घुस्यो अमेरिकी जासुसी विमान

चिनियाँ नौसेनाले सैन्य अभ्यास गरिरहँदा नो–फ्लाई जोनमा घुस्यो अमेरिकी जासुसी विमान

नेपालखबर
भदौ १०, २०७७ बुधबार ९:१७,

मंगलबार चिनियाँ नौसेनाले सैन्य अभ्यास गरिरहँदा नो–फ्लाई जोनमा अमेरिकी जासुसी विमानहरु घुसेका थिए। ‘नो–फ्लाई जोन कुनैपनि विमान उडाउन निषेध गरिएको क्षेत्र हो, यस्ता क्षेत्रमा विमान उडे त्यसलाई आक्रमण गरेर खसाइन्छ, यो तटस्थ क्षेत्रजस्तै हो’

अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले चिनियाँ जनमुक्ति सेनाको उत्तरी सैन्य क्षेत्रमा अमेरिकी जासुसी विमान बिना अनुमति प्रवेश गरेको बताएका छन्। यस्ता कार्यले ठूलो दुर्घटना निम्तने उनको भनाइ छ।

‘अमेरिकी कार्यले चीनको सामान्य गतिविधिहरुमा गम्भीर हस्तक्षेप गरेको छ। यसले हवाई तथा समुन्द्री सुरक्षाको अन्तर्राष्ट्रिय नियमलाई उल्लंघन गरेको छ। यस्ता कार्यले हवाई तथा समुन्द्री क्षेत्रमा दुर्घटना निम्त्याउन सक्छ’ वुले भने,‘अमेरिकी कार्य स्पष्ट उत्तेजक व्यवहार थियो। चीन यस्ता उत्तेजक कार्यको कडा विरोध गर्दछ।’

बेइजिङस्थित थिंक ट्यांक संस्था साउथ चाइना सी प्रोबिङ इनिसियटिभले चिनियाँ सैन्य अभ्यास भइरहँदा अमेरिकी जासुसी विमान बुधबार दक्षिण चीन सागर क्षेत्रमा उडेको बताएको छ।

यद्यपी उक्त थिंक ट्यांक संस्थाले जासुसी गर्नकै लागि अमेरिकी विमान सो क्षेत्रमा नउडेको बताएको छ।

साउथ चाइना मर्निङ पोस्टसँग कुरागर्दै चिनियाँ सेनासँग नजिक रहेका एक स्रोतले दक्षिण कोरियाबाट अमेरिकाको यू–२ जासुसी विमान बोहाइ गल्फ हुँदै उडेको बताए। बहाइ गल्फमा चीनले युद्धपोतसहित सैन्य अभ्यास गर्न लागेको थियो।

अमेरिकाले भने अन्तर्राष्ट्रिय नियम अनुसार नै आफ्ना विमानहरु सो क्षेत्रमा उडेको प्रतिक्रिया दिएको छ।

हालैका दिनमा चीनले दक्षिण चीन सागर, बोहाइ गल्फ तथा एल्लो सीमा सैन्य अभ्यास गर्ने बताएको थियो।

दक्षिण चीन सागरबारे चीन–अमेरिका विवाद

दक्षिण चीन सागर विवादित जलक्षेत्र मानिन्छ। तर चीनले यहाँ कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

अमेरिकाले पनि आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँछ।

अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad