विश्लेषकहरुका अनुसार अमेरिका र ताइवानलाई चेतावनी दिन चिनियाँ नौसेनाले चार स्थानमा सैन्य अभ्यास गर्न लागेको हो।
बेइजिङले अमेरिकासँग युद्ध भने नचाहेको विज्ञहरु बताउँछन्। चिनियाँ नौसेनाले कहिले र कहाँ सैन्य अभ्यास गर्ने भनेर सूचना नै जारी गरेको छ।
एससीएमपीका अनुसार आगामी शुक्रबार र आइतबारसम्ममा सैन्य अभ्यास सम्पन्न भइसक्नेछ।
दक्षिण चीन सागरमा दुईवटा सैन्य अभ्यास हुनेछ भने पूर्वी चीन सागर, एल्लो सी र बोहाइ गल्फमा एक–एक सैन्य अभ्यास हुनेछन्।
दक्षिण चीन सागर विवादित जलक्षेत्र मानिन्छ। तर चीनले यहाँ कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।
चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।
अमेरिकाले पनि आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।
चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँछ।
अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।
अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।
अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।
चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ।
दक्षिण चीन सागरसँगै ताइवानको विषयमा पनि अमेरिका र चीनबीच विवाद छ। चीनले ताइवानलाई आफ्नो देशको हिस्सा भएको दाबी गर्दछ।
ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै गर्दा अमेरिकाले पनि ताइवानलाई अलग राष्ट्रको मान्यता दिएको छ। एजेन्सी
प्रतिक्रिया