राजनीति


मोदीसँग टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले व्यक्त गरे अर्थपूर्ण द्विपक्षीय सहकार्यको इच्छा

मोदीसँग टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले व्यक्त गरे अर्थपूर्ण द्विपक्षीय सहकार्यको इच्छा

नेपालखबर
साउन ३१, २०७७ शनिबार १०:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई छिमेकीलाई प्राथमिकता दिने नीतिलाई निरन्तरता दिएकोमा प्रशंसा गरेका छन्।

दुई प्रधानमन्त्रीबीच शनिबार भएको टेलिफाेन कुराकानीमा प्रधानमन्त्री ओलीले सो प्रशंसा व्यक्त गरेका हुन्।

भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल सरकारका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ तथा शुभकामना दिने क्रममा दुई प्रधानमन्त्रीबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘आज स्वतन्त्रता दिवसका अवसरमा गरिएको प्रधानमन्त्री मोदीको संवोधनमा छिमेकीप्रतिको प्राथमिकतालाई निरन्तरता दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभयो,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहकार्यको इच्छा व्यक्त गर्नुभएकाे छ।’

प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारत चुनिएकोमा पनि भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

द्विपक्षीय विषयहरुमा आगामी दिनमा पनि छलफल जारी राख्न दुई प्रधानमन्त्री सहमत भएको परराष्ट्रले जनाएको छ।

सो कुराकानीका क्रममा दुवै प्रधानमन्त्रीले हाल जारी कोरोना संकट सामना गर्न गरिएका प्रयासहरुको चर्चा गर्दै यसका लागि थप सहकार्य गर्न सहमत भएका छन्।

कोभिड–१९ विरुद्ध संक्रमण रोक्ने खोप छिटो विकास गर्ने आवश्यकतामाथि प्रकाश पार्दै प्रधानमन्त्री ओलीले यस कार्यमा लागि परेका भारतलगायत संसारभरका वैज्ञानिकहरुलाई छिटै सफलता मिल्ने आशा व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad