भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले कोरोना महामारीका कारण देशमा हुने संकट समाधानका लागि तीन सुझाव दिएका छन्।
यसअघि ठूलो मात्रामा भारतमा भएको आर्थिक सुधारको श्रेय डा.सिंहलाई नै जान्छ।
यही हप्ता उनले बीबीसीसँग इमेलमार्फत कुराकानी गर्दै कोरोना महामारी कारण देशमा हुने आर्थिक संकटलाई सामान्य अवस्थामा ल्याउन तीन कदम चाल्न आवश्यक भएको बताएका हुन्।
ती के के हुन्?
उनका अनुसार पहिलो कदम हो– सरकारले नागरिकको जीवकोपार्जन सुनिश्चित गर्नुपर्छ र त्यसका लागि सरकारले उनीहरूलाई सीधै नगद सहयोग गर्नुपर्छ।
दोस्रो– सरकारले कारोबारका लागि पर्याप्त पुँजी उपलब्ध गराउनुपर्छ। त्यसका लागि ‘सरकार समर्थित क्रेडिट ग्यारेन्टी प्रोग्राम’ चलाउनुपर्छ।
तेस्रो– सरकारले ‘संस्थागत स्वायत्तता र प्रक्रिया’ मार्फत वित्तीय क्षेत्रको समस्या हल गर्न जरुरी छ।
कोरोना महामारी सुरु हुनुअघि नै भारतको अर्थव्यवस्था मन्दीको चपेटामा परेको थियो। आर्थिक वर्ष २०१९–२० मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर ४.२ प्रतिशत थियो। यो एक दशकयताकै कम हो।
लामो लकडाउनपछि भारतले बिस्तारै बिस्तारै अर्थव्यवस्था खुला गर्न थालेको छ। तर संक्रमितको संख्या लगतार बढिरहेको छ, जसले भविष्य अनिश्चित बनाएको छ। भारत अहिले कोरोनाबाट विश्वकै तेस्रो पीडित मुलुक हो।
Shares

प्रतिक्रिया