राजनीति


नाकामा कडाई र सार्वजनिक यातायात तीन हप्ता बन्द गर्न उपत्यकाका मेयरहरुको सुझाव (भिडियाे)

नाकामा कडाई र सार्वजनिक यातायात तीन हप्ता बन्द गर्न उपत्यकाका मेयरहरुको सुझाव (भिडियाे)

नेपालखबर
साउन २५, २०७७ आइतबार ९:२९,

उपत्यका नगरपालिका फोरमले काठमाडौं प्रवेश गर्ने नाकामा कडाई गर्न सरकारलाई सुझाव दिएको छ।

आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटि उपत्यकाका मेयरहरुले उपत्यका प्रवेशमा थप कडाई गर्न आग्रह गरेका हुन्।

संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

‘काठमाडौं उपत्यका मुलुकको राजधानी समेत हो। यहाँको घनाबस्ती युक्त क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलज्युलाई आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं। उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ। आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौं भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ।’

छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टिन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिए।

‘उपत्यकामा समूदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा र्‍याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ,’ मेयर शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौ‌ं। सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं।’

संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएको पनि श्रेष्ठले जानकारी दिए।

यस्तै, उपत्यकामा संक्रमणको जोखिम युक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, डेलागाडा, साईकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने जसका लागि तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिएको पनि उनले बताए।

आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ महलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ।

फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad