राजनीति


कोरोना संक्रमण देखिएका प्रदेश २ का मन्त्री यादवसँग प्रधानमन्त्री ओलीसहित ७ मन्त्रीको भेटघाट

कोरोना संक्रमण देखिएका प्रदेश २ का मन्त्री यादवसँग प्रधानमन्त्री ओलीसहित ७ मन्त्रीको भेटघाट

नेपालखबर
साउन २२, २०७७ बिहिबार ७:५२,

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका अरु मन्त्रीले पनि कोरोना परीक्षण गराउने तयारी गरेका छन्।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आज भोलि नै कोरोना परीक्षण गराउने बताए।

नेपालखबरसँग कुरा गर्दै मन्त्री कार्कीले भने, ‘प्रदेशगत हिसावले सिट प्लानिङ गर्दा पनि उहाँ (मन्त्री यादव)को सबैभन्दा नजिक मै थिए, तर फोटो खिच्ने बेलामा मात्रै नजिक बसिएको हो, अरु बेला मास्क लगाएर दूरी कायम गरेरै छलफल भएको थियो।’

प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण देखिएको खबर पाएलगतै अन्यसँग भेटघाट बन्द गरेको र भोलिसम्ममा परीक्षण गर्ने कार्कीले बताए।

संक्रमण पुष्टि भएका मन्त्री यादवसँगै प्रदेशका सुरक्षा हेर्ने ५ मन्त्रीले, प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्वाहाम्फेसँग छलफल गरेका थिए।

छलफलमा गृह सचिव महेश्वर न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सल्लाहकार सूर्य सुवेदीलगायत पनि सहभागी थिए।

प्रहरी समायोजन सम्बन्धी यो छलफलमा गण्डकी प्रदेशका हरिबहादुर चुमान, प्रदेश ५ का कुलबहादुर केसी, कर्णाली प्रदेशका नरेश भण्डारी पनि सहभागी थिए।

प्रदेशं ३ र ७ का आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु भने यी छलफलमा सहभागी भएका थिएनन्।

छलफलमा सहभागी गृह मन्त्रालयका कर्मचारीहरुको भने परीक्षणको रिपोर्ट आउने क्रममा रहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।

बुढाले नेपालखबरसँग भने, ‘केहीको रिपोर्ट आएकोमा सबैको नेगेटिभ आएको छ, अरुको बाँकी छ। प्रदेशका मन्त्रीसँग छलफलमा सहभागी भएकाहरुको फेरि परीक्षण गर्नैपर्छ होला तर स्वास्थ्यको प्रोटोकल अनुसार हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad