ad ad

राजनीति


नेपाल पक्षको ठहरः ओलीलाई त्राण दिन मात्रै वामदेवले ६ बुँदे प्रस्ताव ल्याए

नेपाल पक्षको ठहरः ओलीलाई त्राण दिन मात्रै वामदेवले ६ बुँदे प्रस्ताव ल्याए

नेपालखबर
साउन १४, २०७७ बुधबार १६:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा ‘सेरेमोनियल’ अध्यक्ष मात्रै राख्ने र प्रधानमन्त्री भने पूरै कार्यकाल दिने भन्दै उपाध्यक्ष वामेदव गौतमले ल्याएको प्रस्तावप्रति बालुवाटारले सकारात्मक प्रतिक्रया जनाएको छ। तर, माधव नेपाल पक्षले भने सो प्रस्ताव ओलीलाई फाइदा गर्ने हिसाबले ल्याइएको निष्कर्ष निकालेको छ।

ओलीले मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक एकपक्षीयमा रुपमा स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै बैठक राखेका थिए। जसका कारण नेकपामा परिस्थिति तनावपूर्ण बनेको थियो।

त्यहीबेला गौतमले मध्यमार्ग भन्दै ६ बुँदे प्रस्ताव पेस गरेका थिए। गौतमको प्रस्ताव आउनसाथ बालुवाटार निकट नेताहरुले तत्काल सामाजिक सञ्जालमा सेयर गरेका थिए। तर, प्रचण्ड र नेपाल पक्षले भने त्यसलाई सकारात्मक रुपमा भने लिएको छैन।

केन्द्रीय सदस्य डा. विजय पौडेलले पछिल्लो समय गौतमले ओलीलाई फाइदा पुग्नेगरी सबै काम गर्दै आएको बताए।

‘गौतमले विषयवस्तुलाई मच्चाउने मच्चाउने र अन्तिममा गएर पानी खन्याउने काम गर्दै आउनु भएको छ,’ पौडेलले भने, ‘अहिले उपाध्यक्ष गौतमले अघि सार्नु भएको ६ बुँदे प्रस्ताव पनि विषयवस्तुलाई अन्यत्र मोड्ने प्रयास मात्रै हो।’

उपाध्यक्ष गौतम आफूले ल्याएको प्रस्तावमा अडिन नसक्ने र निकास दिनेभन्दा प्रधानमन्त्री ओलीलाई अवसर दिने गरेको नेपाल पक्षको आरोप छ।

नेपाल निकट एक स्थायी कमिटी सदस्यले गौतम आफ्नो विचारमा अडिग नहुने हुनाले उनको प्रस्तावलाई गम्भीरतापूर्वक नलिने बताए।

‘गौतमले बिहान, दिउँसो र राति तीन वटा विचार ल्याउनु हुन्छ। हिजो ल्याउनु भएको प्रस्तावमा अहिले अडिग हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन,’ ती नेताले भने, ‘त्यसैले गौतमले बैठकमा उठाउनुभएको विषयलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् र छलफल नै भएन।’

गौतमले बैठकमा ओलीबाट सरकार र पार्टी दुवै चल्न नसक्ने तर हटाउन खोजे पार्टी फुटाउने भन्दै आफूले मध्यमार्गी प्रस्ताव ल्याएको बताएका थिए।

गौतमको प्रस्तावले प्रधानमन्त्री ओली पक्षलाई त्राण दिएको थियो। त्यसैले मंगलबार साँझ प्रधानमन्त्री ओली भैँसेपाटीस्थित गौतम निवास पुगेका थिए।

केन्द्रीय सदस्य गोकुल बास्कोटाले भने महाधिवेशन र आमचुनावअघि पार्टी र सरकारको नेृतत्व परिवर्तन गर्न नहुने बताए।

‘गौतमले ल्याउनु भएको उहाँको विचार हो। त्यसको स्वागत र सम्मान गर्दछौँ। त्यस विषयमा छलफल पनि हुनसक्छ,’ बास्कोटाले भने, ‘पार्टीको नेतृत्वको विषय महाधिवेशनले पारित गर्ने विचार र कार्यकर्ताको चाहनाले गर्छ। सरकारको नेतृत्वको विषय आमनिर्वाचनमा जनताले तय गर्ने हुन्छ। त्यसअघिसम्म पार्टी र सरकारको नेतृत्वका कुनै प्रकारको फेरबदल आउने सम्भावना छैन।’

आफ्नो प्रस्तावको एउटा बुँदाबाहेक सबैमा ओली सकारात्मक रहेको गौतमले मंगलबारको स्थायी कमिटी बैठकमा बताएका थिए।

प्रस्तावको दोस्रो बुँदामा ‘सम्पूर्ण कार्यकारी अधिकार’ सहित पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ। पहिलो बुँदामा ओलीलाई अहिलेको प्रतिनिधिसभाका कार्यकाल भरी नै प्रधानमन्त्री बनाउने विषय रहेको छ।

उपाध्यक्ष गौतमले यस प्रस्तावका लागि एक सातादेखि तयारी गरिरहेको जानकारहरु बताउँछन्।

कार्यकारी अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितको नेताहरुसँग यस विषयमा गौतमले छलफल पनि गरेका थिए।

‘दुवै नेताहरुले यसलाई खासै सकारात्मक रुपमा लिनु भएको थिएन,’ गौतमको प्रस्तावबारे जानकार एक नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .