सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्ने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसँग सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए।
‘यस विषम् परिीस्थतिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।
उनले आजको स्थायी समितिको बैठकको मिति र समय यसअघिकै बैठकले निर्धारण गरेको भन्दै बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विधिविपरीत बैठक स्थगित गरेको भन्दै स्थायी समिति बैठकले त्यसलाई अनुचित ठहर गरेको उनले बताए।
उनले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओलीलाई बैठकमा आउन आग्रह गरे पनि उनले अस्वीकार गरेको बताए।
पार्टीमा प्रचण्ड समूहको बहुमत हुँदाहुँदै पनि किन अनिर्णित हुनुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले बहुमतका आधारमा नभई सहमतिका आधारमा अगाडि बढ्न चाहेको बताए।
‘हामी छिटोछिटो, हतारमा कुनै निर्णयमात्र गर्न चाहन्नौँ, धैर्यपूर्वव सुझबुझसाथ सकेसम्म सहमतिमा निर्णय गर्न चाहन्छौँ’, उनले भने, ‘बहुमत छ भनेर बहुमत र अल्पमतका प्रक्रियाबाट छिटो निर्णय गर्नभन्दा पार्टीका सबैजसो वा धेरै साथीहरुले छलफलमा व्यक्त गरेको विचारलाई ध्यान दिएर अध्यक्ष ओलीसहित सहमतिमा पुगौँ भन्ने प्रयत्नलाई सफल बनाउन हामी लागीपरेका छौँ।’
Shares

प्रतिक्रिया