राजनीति


ओलीविरुद्ध बहुमत देखाउने प्रचण्ड–नेपालको तयारी

ओलीविरुद्ध बहुमत देखाउने प्रचण्ड–नेपालको तयारी

सागर न्यौपाने
साउन १२, २०७७ सोमबार १४:२०,

सत्तारुढ नेकपाको जारी विवाद संवादमार्फत समाधान गर्ने सम्भावना निकै कम भएको निष्कर्ष निकाल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बहुमतद्वारा निर्णय गर्ने तयारी गरेको छ।

सोमबार प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले खुमलटारमा छलफल गरी अब पनि सहमति नभए बहुमतीय प्रक्रियामा जाने समझदारी पनि गरेका छन्।

‘सहमतिमा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुभयो भने ठीकै छ नत्र अब पार्टी कमिटीले निर्णय गर्छ,’ वरिष्ठ नेता खनालले भने।

यसअघि आइतबार नै अध्यक्ष प्रचण्डले खुमलटारमा भेला भएका केही केन्द्रीय सदस्यहरुलाई नेकपाको भविष्य संकटमा परेको भन्दै अब बहुमतीय प्रक्रियामा जाने संकेत गरेका थिए।

‘ओलीजीले एकताको स्पिरिट भुल्नुभयो, संस्थागत भ्रष्टाचार फस्टायो, यसले त नेकपाको भविष्य नै संकटमा धकेल्यो,’ प्रचण्डले भने, ‘अब सहमतीय आधारमा निर्णय भएन भने पार्टीले संस्थागत निर्णय गरेर गाँठो फुकाउनुपर्नेतिर जान्छ, त्यो भनेको अल्पमत र बहुमत नै हो।’

प्रधानमन्त्री ओली पार्टीभित्रको गतिरोध अन्त्य गर्न गम्भीर नभएको पनि प्रचण्डले बताए।

‘पार्टीलाई तलमाथि गर्न हुँदैन भन्दै लागिरहेको छु,’ प्रचण्डको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘ओलीजी केही कुरामा पनि सहमति गर्न तयार नै देखिनुहुन्न, नयाँ नयाँ प्रस्ताव मात्रै ल्याउनुहुन्छ। पार्टीलाई यही अवस्थामा लामो समय राख्दा त्यसले समस्या ल्याउने देखिन्छ।’

साउन ३ गते राष्ट्रपति निवासमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई छिटो महाधिवेशन गरेर अध्यक्ष र चुनावपछि प्रधानमन्त्री बनाउने तर जनताको बहुदलीय जनवाद (जबज) मान्नुपर्ने सर्त राखेका थिए। जसलाई प्रचण्डले अस्वीकार गरेका थिए।

साउन ६ गते एक हप्ताका लागि स्थगन गरिएको स्थायी कमिटी बैठक १३ गते मंगलबार बोलाइएको छ। बैठकको विषयमा परामर्श गर्न प्रचण्ड साउन ९ गते बालुवाटार गएका थिए। दुईघण्टा छलफल भएपनि त्यसमा सकारात्मक कुरा हुन नसकेको उनले बताए।

३२ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा नियमित एजेन्डामा छलफल नै भएको छैन। ओलीको राजीनामा माग भएपछि उनी बैठकमै सहभागी भएका छैनन्।

ओली बैठकमा आउन छोडेपछि बैठक लगातार स्थगित गरेर अध्यक्षद्वय छलफलमा छन्।

ओली–प्रचण्डको निरन्तरको छलफलमा कुनै समझदारी भएको छैन। पार्टीका वरिष्ठ नेता खनाल, नेपाल लगायतले बहुमतका आधारमा निर्णय गरेर जानुपर्ने सुझाव दिएका थिए। प्रचण्डले भने सहमतिमै जोड दिएको बताउँदै आएका थिए।

नेपाल निकट एक नेताका अनुसार मंगलबार पनि स्थायी बैठक राख्न ओली सहमत भएनन् भने अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराइमा बैठकको अध्यक्षता गर्ने तयारी छ।

ओली सहभागी नहुने त्यो बैठकले के निर्णय लिन सक्छ त?

‘बैठकले प्रधानमन्त्री ओलीलाई एक पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्न सक्छ, साथै केन्द्रीय समिति बैठकको मिति पनि तोक्न सक्ने सम्भावना छ’, ती नेताले भने, ‘केन्द्रीय समितिको बैठक संभवतः एक महिनापछि आयोजना गर्ने निर्णय भयो भने त्यो अवधि पनि सहमतिका लागि प्रयास हुनेछ।’

ओलीले पनि विभिन्न नेताहरुलाई बालुवाटार बोलाउँदै छलफल गरिरहेका छन्। त्यसैले ओलीपनि बहुमत पु¥याउन लागिपरेको निष्कर्ष अन्य नेताहरुले निकालेका छन्।

‘पार्टीभित्रका विवादलाई समाधान गर्न र बैठकबाट निर्णय गरेर पार्टीलाई थप एकतावद्ध गर्ने अध्यक्षको प्रयास सफल नभएपछि उहाँले अब संस्थागत निर्णय गरेर जाने मनस्थिति बनाउनुभएको छ,’ नेपालनिकट एक नेताले भने।

मंगलबार बस्ने बैठकमा ओली उपस्थित नभएपनि बैठक राख्नैपर्ने भनेर नेताहरुले प्रचण्डलाई दबाब दिएका छन्।

‘अब पनि सहमति मात्र भनेर हुँदैन, अल्पमत र बहुमत जे भएपनि पार्टीको बैठक बसेर पार्टीले निर्णय गर्नुपर्छ,’ खनालले भने।

खुमलटारमा थापाले भनेः मलाई शंका गर्नुपर्दैन
सोमबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका गृहमन्त्री रामबहादुर थापाले आफू प्रचण्डसँगै रहेको स्पष्ट पारेका छन्।

‘मलाई शंका गर्नुपर्दैन, निर्णायक मोडमा म तपाईंहरुकै पक्षमा रहन्छु,’ थापाको भनाइ उधृत गर्दै खुमलटारनिकट स्रोतले भन्यो।

थापाले प्रचण्डसँगको भेटलगत्तै केही नेताहरुसँग पनि छलफल गरेका थिए।

यद्यपि राम्रो तयारी नगरी कुनै कदम नचाल्न थापाले सुझाव दिएका छन्।

‘हामी सेफ साइडमा त छौं तर तयारी राम्रो गरेर मात्र कदम चाल्नुपर्छ,’ थापाको सुझाव उल्लेख गर्दै एक नेताले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad