राजनीति


चीनले अमेरिकालाई भन्यो : ७२ घण्टाभित्र आफ्नो कन्सुलेट बन्द गर

चीनले अमेरिकालाई भन्यो : ७२ घण्टाभित्र आफ्नो कन्सुलेट बन्द गर

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ७:३४,

चीनले अमेरिकालाई चीनको दक्षिणपश्चिमी शहर छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास (कन्सुलेट) बन्द गर्न आदेश दिएको छ।

अमेरिकाले टेक्सासको ह्युस्टनस्थित चीनको कुटनीतिक नियोगलाई त्यहाँ जासुसी गरेको आरोपमा बन्द गर्ने भनेपछि त्यसको बदलामा सो कदम चालेको चीनले जनाएको छ।

‘चीनको यो कदम अमेरिकाको गलत कामको आवश्यक जवाफ र बैध कदम हो। यो अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता र कुटनीतिक अभ्यासका परम्पराअनुसार छ,’ चीनको विदेश मन्त्रालयले भनेको छ।

अहिले चीन र अमेरिकाबीच जस्तो परिस्थिति सिर्जना भएको छ त्यो चीनको चाहनाबमोजिम नभएको र त्यसका लागि अमेरिका जिम्मेवार रहेको चिनियाँ सरकारको दाबी छ।

‘अमेरिकालाई उसका गलत निर्णयहरु तत्काल फिर्ता लिएर द्विपक्षीय सम्बन्धलाई सहि बाटोमा ल्याउनका लागि हामी अमेरिकासँग फेरि पनि आग्रह गर्छौं,’ चीनले भनेको छ।

चीनले अमेरिकालाई छेन्दूको महावाणिज्य दूतावास आदेश दिएको ७२ घण्टाभित्र बन्द गर्न भनेको छ। अमेरिकाले ह्युस्टनस्थित चिनियाँ नियोग बन्द गर्न जति समय दिएको थियो, अमेरिकी नियोगलाई पनि त्यति नै समय दिएको उसले जनाएको छ।

चीनका सिन्ह्वालगायत सरकारी सञ्चारमाध्यमहरुले ‘अमेरिकाले दादागिरी देखाएपछि’ त्यसको प्रतिवाद गर्न चीन बाध्य भएको जनाएका छन्।

ती सञ्चारमाध्यमले यो कदम अमेरिकी जनताप्रति नभई अमेरिकी सरकारमा रहेका अतिवादी शक्तिप्रति लक्षित भएको दाबी गरेका छन्।

उता अमेरिकी अधिकारीहरुले भने ह्युस्टनस्थित चिनियाँ महावाणिज्य दूतावासलाई जासुसी गतिबिधि गरेको आरोप लगाएका छन्।

अमेरिकी विदेशमन्त्री माइक पम्पियोले बिहीबार दिएको मन्तव्यका क्रममा सो चिनियाँ कन्सुलेट ‘जासुसी र बौद्धिक सम्पत्ति चोरीको केन्द्र बनेको’ दाबी गरेका थिए।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरु चिनियाँ कुटनीतिक नियोग पनि जासुसी आरोपमा बन्द गर्ने संभावना सँधै भइरहने बताएका थिए।

चीनले बन्द गर्न लागेको छेन्दूस्थित अमेरिकी कन्सुलेट चीनको दक्षिणपश्चिमी क्षेत्र हेर्ने अमेरिकाको एकमात्र कुटनीतिक नियोग हो। यसले तिब्बत, चोङचिङ, सिचुआन, युन्नान र ग्युझाउ लगायत क्षेत्र हेर्छ। –एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad