सरकारले बेरोजगार युवालाई रोजगारीका लागि दरखास्त दिन आह्वान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली संकलन गर्न निर्देशन दिएको हो।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका शाखा अधिकृत कृष्ण पौडेलका अनुसार बेरोजगार व्यक्तिले यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई नाम दर्ता गराउनुपर्नेछ।
त्यसपछि रोजगार व्यवस्थापन सूचना प्रणालीले रोजगारीका लागि युवा छनोट गर्नेछ। शाखा अधिकृत पौडेलका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा सरकारले गत वैशाख १४ गते गरेको निर्णयका आधारमा बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउन निवेदन दिन आग्रह गरेको हो।
रोजगारीका लागि बेरोजगार व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले गरेको व्यवस्थानुसार आफूले न्यूनतम रोजगारको अवसर नपाएको र आफू तोकिएबमोजिम आयआर्जन हुने स्वरोजगारमा संलग्न हुने जानकारी गराउँदै निवेदन दिनुपर्नेछ।
निवेदन दिएका व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा २१ बमोजिम रोजगार केन्द्रले खटाएको ठाउँमा गई काम गर्नुपर्नेछ।
केन्द्रले त्यस्ता व्यक्तिलाई रोजगार दिन नसकेमा ऐनको दफा २२ अनुसार निर्वाह भत्ता भनी न्यूनतम पारिश्रमिकको १०० दिन बराबरको रकमको ५० प्रतिशत उपलब्ध गराउनुपर्नेछ। रासस
Shares

प्रतिक्रिया