ad ad

राजनीति


एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने

नेपालखबर
साउन ४, २०७७ आइतबार १०:१६,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा उनले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गरे।

एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उनको भनाइ थियो। त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उनको प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ।’

मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा भौतिक मन्त्रालयमा दरबन्दीभन्दा धेरै कम जनशक्ति कार्यरत रहेको बताए। मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी पहिलो श्रेणीका १३, दोस्रो श्रेणीका ४०, इञ्जिनियर ११६ र सबइञ्जिनियर १५० दरबन्दी रिक्त छन्। मन्त्रालयले संगठन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकामा फाइल त्यहीँ अड्किएको उनले बताए।

केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको मन्त्रालयले जनाएको छ। देशभरमा अहिले झण्डै एक हजार पाँच सय पुल निर्माणाधीन भए पनि तीमध्ये एक वर्षमा दुईदेखि तीन सयसम्म मात्रै सम्पन्न गर्न सक्ने क्षमता व्यवसायीको भएको बताइएको छ। मन्त्री नेम्वाङले भने, ‘त्यसैले पनि कुन ठाउँमा कति पुल बढी आवश्यक छ भनी हामीले छुट्टाउनैपर्छ।’

सो अवसरमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलका नयाँ योजना थप्नेभन्दा भएकै योजना पूरा गर्नुपर्नेमा जोड दिए। अहिलेसम्म संघीय सरकारले नै स्थानीय र प्रदेश सडकमा पुल निर्माण गरिरहेको बताउँदै उनले भने, ‘केही समयका लागि त्यही उपयुक्त होला तर विस्तारै हामीले जिम्मेवारी हस्तान्तरण गर्दै जानुपर्छ।’

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पहिले असारे विकास भनिए पनि अहिले निर्माणका काम मङ्सिरपुसमै भइरहेको बताए। कतिपय स्थानमा पुल निर्माण सयमभन्दा ढिलाइ भइरहे पनि कतिपय स्थानमा निर्माण व्यवसायीले समयभन्दा पहिले नै पुल सम्पन्न गरिरहेको जिकिर उनले गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .