राजनीति


स्थायी समितिमा आज कुन मन्त्री कसको पक्षमा बोल्दैछन्?

स्थायी समितिमा आज कुन मन्त्री कसको पक्षमा बोल्दैछन्?

नेपालखबर
साउन २, २०७७ शुक्रबार १:१५,

आज बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले बोल्ने तयारी गरेका छन्।

ओलीले शुक्रबार स्थायी समिति बैठकमा आफ्नो पक्षका सदस्यहरुले धारणा राख्ने जानकारी हिजो बिहीबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन्। नेकपा स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे बालुवाटारमा सुरु हुँदै छ।

‘भोली स्थायी समितिमा मेरो पक्षका नेताहरूले बोल्नुहुन्छ, म पनि बैठकमा आउँछु’, प्रचण्ड र नेपालले राजीनामा दिन फेरि आग्रह गरेपछि ओलीले जवाफमा भनेको एक नेताले उधृत गरे।

तीन शीर्ष नेताबीच भएको छलफलमा पनि कुनै निष्कर्ष ननिस्केपछि शुक्रबार बस्ने स्थायी समिति बैठकबाट केन्द्रीय समिति आयोजना गर्ने सहमति बनेको थियो। आजको बैठकले भदौमा बस्ने गरी केन्द्रीय समितिको बैठकको मिति तोक्ने बताइएको छ। 

‘प्रचण्ड र नेपालले राजीनामाको विषय उठाएपछि ओलीले स्थायी समितिमा आफ्नो पक्षका नेताले पनि बोल्ने बताउनु भयो’, ओली पक्षका अर्का एक नेताले भने।

यसअघि असार १६ गते भएको स्थायी समिति बैठकमा ओली र प्रचण्डसहित १८ जनाले बोलेका थिए, जसमध्ये १७ जनाले ओलीको विपक्षमा धारणा राख्दै राजीनामा मागेका थिए।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा ३१ जना प्रचण्ड–नेपाल पक्षमा र १३ जना ओलीको पक्षमा उभिएको मानिन्छ। प्रचण्ड–नेपाल पक्षका करिब आधा र ओली पक्षका प्राय सबै नेताले बोल्न बाँकी छ।

स्थायी समितिमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले पनि बोल्न बाँकी छ। लामो समय मौन रहेका थापा पछिल्लो समयमा प्रचण्ड–नेपाल समूहमा देखिन थालेका छन्। बिहीबार बालुवाटार जानुअघि प्रचण्डले खुमलटारमा आयोजना गरेको सचिवालय सदस्यहरूको छलफलमा थापासहित ६ जना सहभागी भएका थिए।

उपप्रधानमन्त्री पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओली पक्षमा उभिँदै आएका छन्। त्यस्तै कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, आपूर्तिमन्त्री लेखराज भट्टले पनि बोल्न बाँकी छ।

भुसाल र भट्टराई नेपाल निकट नेता हुन् भने पुन, पोखरेल, बस्नेत र भट्ट प्रचण्ड निकट नेता हुन्। जसमध्ये भट्ट मन्त्री भएपछि प्रधानमन्त्री ओलीको पक्षमा खुलेर बोलेका छन्।

ओलीले केही दिनअघि मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरुसँग ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीलाई हटाउने षडयन्त्र भइरहेको’ भन्दै आफुले चाल्ने कदममा साथ दिन आग्रह गरेका थिए। उनले मन्त्रीहरुलाई ‘कित्ता स्पष्ट’ गर्न भनेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad