राजनीति


नेकपामा विवाद : ओली-प्रचण्डबीच थप छलफल अनिश्चित

नेकपामा विवाद : ओली-प्रचण्डबीच थप छलफल अनिश्चित

नेपालखबर
असार २५, २०७७ बिहिबार ४:७,

पार्टीभित्र बढेको विवाद अन्त्यका लागि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (बिहीबार) भेटवार्ता हुने/नहुने निश्चित भएको छैन।

सोमबारदेखि बुधबारसम्म लगातार तीन दिन ओली प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो। तर, तीन दिनसम्म भएको छलफलमा पनि अध्यक्षद्वयबीच कुनै सहमती नभएपछि उनीहरुबीच थप छलफल अनिश्चित बनेको नेकपा स्रोतले जनाएको छ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

विवादले पार्टी फुटको जोखिम बढेपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष एक्लाएक्लै छलफलमा बसेका हुन्। पटक पटक स्थगीत हुँदै आएको स्थायी कमिटी बैठक असार २६ गते बस्ने बताइएको छ।

स्थायी कमिटी बैठक रोकेर भएका छलफलमा दुबै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि सहमती जुट्न सकेको छैन।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच आज थप छलफल हुने नहुने निश्चित नभएको जानकारी दिए। ‘उहाँहरुबीच आज भेटवार्ता हुने/नहुने निश्चित भएको छैन,’ थापाले बिहीबार बिहान नेपालखबरसँग भने, ‘छलफलको लागि समय निर्धारण भएको छैन, के हुन्छ, ठेगान छैन।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि आज अध्यक्षद्वयबीच छलफलको लागि समय तय नभएको जानकारी दिए। उनले अध्यक्ष प्रचण्डसँग अन्य नेताहरुकाे छलफलको लागि पनि समय निर्धारण नभएको बताए।

बुधबार भएको छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएका छन्। यसबाट प्रचण्ड थप रुष्ट बनेको अड्कल काटिएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बन्नका लागि एकता महाधिवेशन र प्रधानमन्त्री बन्ने जनादेशका लागि अर्को चुनावसम्म कुर्न भनेका छन्।

‘पार्टी एकता कायम राख्ने हो भने राजीनामाका कुरा छाड्नुस्, एक्लै अध्यक्ष हुने चाहना छ भने महाधिवेशनपछि हुनुस्, प्रधानमन्त्री हुन मन लागे चुनावपछि भए हुन्छ,’ बैठकमा ओलीले भनेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार साँझ उनीहरूबीच दुई घन्टा छलफल भएको थियो। छलफलमा ओली आफ्नो अडानबाट पछि नहटेपछ उनीहरुबीचको सम्बन्धमा झन् तिक्तता थपिएको अड्कल काटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad