राजनीति


बाढी पीडितलाई भेट्न जान सांसदहरुद्वारा एक हप्ता समय माग

बाढी पीडितलाई भेट्न जान सांसदहरुद्वारा एक हप्ता समय माग

नेपालखबर
असार ३१, २०७६ मंगलबार ९:१७,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्धय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन्।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गरिन्। उनले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गरिन्।

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गरे। उनले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ पनि समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षण गराए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे। उने बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सांसदहरुलाई आ–आफनो निर्वाचन क्षेत्रमा जान भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएको उल्लेख गर्दै समितिको बैठक पनि स्थगित हुनुपर्ने पनि बताए।

यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad