राजनीति


ओली–प्रचण्ड वार्ता र कार्यदल गठनप्रति नेपालपक्ष असन्तुष्ट

ओली–प्रचण्ड वार्ता र कार्यदल गठनप्रति नेपालपक्ष असन्तुष्ट

नेपालखबर
असार २१, २०७७ आइतबार १७:२,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सुल्झाउन आइतबार सहमति प्रयास भइरहेका बेला सो प्रक्रियामा आफ्नो समुहलाई नै सामेल नगराइपछि पार्टीभित्रको तीन शक्तिकेन्द्र मध्ये एक पक्ष भने असन्तुष्ट र सशंकित बनेको छ।

आइतबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आफूनिकट दोस्रो तहका नेतासहित वार्ता भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सो वार्तापछि सहमतिको खाका तयार पार्न एक अनौपचारिक कार्यदल समेत गठन गरिएको छ।

आइतबार भएको वार्ता प्रक्रिया र गठन गरिएको नयाँ कार्यदलमा समेत माधवकुमार नेपाल पक्षलाई समावेश नै नगरिएको भन्दै नेपाल समुह असन्तुष्ट र सशंकित देखिएको हो।

आइतबार ओली र प्रचण्डबीच भएको वार्तामा ओलीले आफ्ना विश्वस्त नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई साथमै राखेका थिए।

प्रचण्डले ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटीका सदस्य जनार्दन शर्मालाई वार्तामा संलग्न गराएका थिए।

केही सकारात्मक भएको भनिएको सो बैठकले सहमतिको खाका तयार पार्ने जिम्मेवारी पौडेल, पोखरेल, पुन र शर्मालाई दिएको छ।

विगतमा भएको सहमतिको आधारमा नयाँ सहमति खोज्ने भन्दै त्यसका लागि एउटा खाका तयार पार्नका लागि दुवै पक्ष तयार भएको हो।

‘अहिले भएको वार्ता प्रक्रियामा माधवकुमार नेपाल र झलनाथ खनालको प्रतिनिधित्व गराइएको छैन। यस्तो कुराले त शंका उत्पन्न भैहाल्छ नी,’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘पहिले कस्तो खाका आउँछ त्यसैको आधारमा आगामी कदम निर्धारण गरिनेछ। तर यसप्रति हाम्रो असन्तुष्टि रहेको छ।’

सोमबार स्थायी कमिटी बैठक सुुरु हुनुअघि दुई अध्यक्षबीच फेरि वार्ता गर्ने तय भएको छ। सहमतिका लागि शुक्रबारको स्थायी कमिटी बैठकले दुई दिनका लागि बैठक स्थगित गरेको थियो।

जारी स्थायी कमिटी बैठकपछि नेकपामा तिक्तता निकै बढेको छ। अध्यक्ष प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैको नेतृत्व छाड्नुपर्ने माग गरेका छन्।

तर प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिँदै आएका छन्। ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने गरी षडयन्त्र भएको आरोप लगाएपछि परिस्थिति थप तनावपूर्ण भएको थियो।

नेताहरुले राष्ट्रपतिलाई हटाउने विषयमा कहीँकतै छलफल नै नभएको बताउँदै आएका छन्।

अध्यक्ष दाहाल, नेता खनाल र नेपालले आइतबार राष्ट्रपति भण्डारीसँग भेट गरेर त्यस्तो कुनै तयारी नरहेको जानकारी गराएका थिए।

त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आआफ्ना पक्षका नेतासहित वार्ता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad