पदबाट राजीनामा दिन तीव्र दबाब भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सहज हुनेगरी फेरि अध्यादेश ल्याउने तयारी गरेका छन्।
संसदको वर्षे अधिवेशन बिहीबार साँझ ५ बजेदेखि अन्त्य गर्न मन्त्रीपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेर अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री रहेको एक नेताले जानकारी दिए।
‘संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले अध्यादेश ल्याउने बाटो खोलेका हुन्,’ एक नेताले भने, ‘प्रचण्ड–नेपाललाई तर्साउन खोजेको हो।’
संसदमा विचाराधीन केही विधेयक पारित नगरी एक्कासी संसद अधिवेशन अन्त्य गर्नुका कारण दल फुटाउने योजना रहेको ती नेताले दाबी गरे।
सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टी कमिटीहरुमा अल्पमतमा रहेका छन्।
संसद सचिवालय स्रोतले पनि प्रधानमन्त्री ओलीले दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याउने योजनाअनुरुप संसद अधिवेशन अन्त्य गराएको बताए।
‘कुनैपनि बेला अध्यादेश ल्याउन सजिलो बनाइएको हो,’ संसद सचिवालय स्रोतले भन्यो।
तर माधव नेपाल निकट एक नेताले भने ‘यो तर्साउनका लागि लिइएको कदम हो। यसले कोहि तर्सिर्ने वाला छैन।’
यसअघि बैशाख ८ गते प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याएका थिए।
आफ्नै पार्टी र अन्य दलहरुले समेत तीब्र विरोध गरेपछि प्रधानमन्त्री ओलीले बैशाख १२ गते सो अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए।
सोही अध्यादेश ल्याएपछि चुलिएको नेकपाको विवाद प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने अवस्थामा पुगेको छ।
अघिल्लो सातादेखि सुरु स्थायी समितिको बैठकमा उनले पार्टी र सरकार दुबैबाट राजीनामा दिनुपर्ने माग उठेपछि उनी दबाबमा थिए। सोही दबाबबाट पन्छिन दल फुटाउने अध्यादेश ल्याउने तयारीमा रहेको नेकपाका एक स्थायी समिती सदस्यले बताए।
तर, कानुनविद्हरुले भने चलिरहेको अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु असंवैधानिक हुने बताउँछन्।
‘पार्टी फुटाउने उद्देश्यका साथ ल्याइएको अध्यादेशलाई पछि संसद्ले अनुमोदन गर्दैन र अन्ततः त्यस्तो बाटोबाट बनाइएको दलले नै मान्यता पाउँदैन,’ एक कानुनविद्ले भने।

प्रतिक्रिया