राजनीति


दर्जन बढी स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्रीको आग्रहः मेरो पक्षमा बोलिदिनुस्

दर्जन बढी स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्रीको आग्रहः मेरो पक्षमा बोलिदिनुस्

नेपालखबर
असार १७, २०७७ बुधबार ४:४९,

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै बालुवाटार बोलाएर पार्टीका १५ जना स्थायी कमिटी सदस्यसँग आफूलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री ओलीले आज बिहान नेकपा स्थायी कमिटी सदस्य रहेका केही मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा करिब २ घण्टा परामर्श गरेका हुन्।

याे पनि: पद धरापमा परेपछि प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

त्यस क्रममा प्रधानमन्त्रीले आफूलाई अप्ठेरामा पारिएको भन्दै सहयोगका लागि आग्रह गरेको छलफलमा सहभागी एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

‘मलाई अहिले अप्ठेरामो पारिएको छ,’ प्रधानमन्त्री ओलीकाे भनाइ उधृत गर्दै ती मन्त्रीले भने, ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍याे, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्‍याे।’

प्रधानमन्त्री ओलीले अहिले पार्टी र देश दुवै गम्भीर संकटमा रहेकाले गम्भीरतापूर्वक कदम चाल्न आफूले परामर्श थालेको र यो पहिलो चरण भएको बताए। छलफलमा सहभागी नेकपा नेता एवं पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले अब क्रमशः सबैसँग परामर्श गर्ने बताएका छन्।  

छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अब नयाँ ढंगले अघि बढाउन सुझाव दिएका छन्।

‘जनताले हामीलाई ऐतिहासिक अवसर दिएका छन्। यसलाई दुरुपयोग गर्न हुँदैन। त्यसैले नयाँ सहमति र सझदारीका साथ सरकार र पार्टी सञ्चालन गर्नुहोस्,’ छलफलमा सहभागीले प्रधानमन्त्रीलाई सुझाव दिएकाे छन्। 

छलफलमा को–को सहभागी थिए?
बैठकमा प्रधानमन्त्री ओलीनिकटका व्यक्ति मात्र नभई पूर्वमाओवादीबाट पनि सहभागी भएका छन्।

एक नेताका अनुसार गृहमन्त्री रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि बैठकमा सहभागी भएका हुन्।

यस्तै उपप्रधानमन्त्री ईश्वर पोखेरल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल र छवीलाल विश्वकर्मा सहभागी थिए। उनीहरू सबै नेकपा स्थायी कमिटी सदस्य हुन्।

मंगलबार भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १७ जनाले ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

मंगलबार ओलीको पक्षमा रहेका कोही पनि स्थायी कमिटी सदस्यले बोलेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad