राजनीति


नागढुंगा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं: मन्त्री लम्साल

नागढुंगा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं: मन्त्री लम्साल

नेपालखबर
साउन ११, २०८३ सोमबार १२:३८, काठमाडौँ

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गरिने बताएका छन्। 

सोमबार सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लम्सालले आफूहरूले इतिहासलाई सम्मान गर्ने बताए। सुरुङमार्गको शिलान्यसाबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हइटाएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा मन्त्री लम्सालले पुनर्स्थापना गरिने बताएका हुन्। ‘हामी त्यसलाई फेरि पुनर्स्थापना गर्छौं,’ उनले भने। 

उनले इतिहासलाई सम्मान गर्नुपर्ने र गर्ने बताए। ‘हामीले भूतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ, एकदम इज्जत गर्छौँ,’ लम्सालले भने, ‘केही कुरा मिडियामा आएको थियो, त्यस्तो होइन।’

जेनजी आन्दोलनका क्रममा भवनमा लागलागी हुँदा शिलान्यासको शिलालेख पनि हराएको जानकारी पाएको उनको भनाइ थियो। ‘यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको त्यसलाई सुरक्षित सडक विभागमा राखिएको रहेछ,’ मन्त्री लम्सालले भने, ‘पछि जेनजी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हराएको रहेछ।’

यो सुरुङमार्गको आर्थिक वर्ष २०६६÷६७ मा सम्भाव्यता अध्ययन गरिएको थियो। त्यतिवेला झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए। 

सुरुङमार्गको २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा छिचोलिएको थियो। 

मन्त्री लम्सालले अब देशैभरी सुरुङमार्ग बन्ने बताए। ‘अब देशैभरी यस्ता टनेल बन्छन्, यो टनेलले धेरै कुरा सिकायो,’ लम्सालले भने, ‘हामी टनेल युगमा प्रवेश गरेका छौँ।’

मुख्य सुरुङमार्ग २.६८८ किलोमिटर लामो छ। त्यस्तै, सहायक सुरुङमार्ग २.५५७ किलोमिटर छ। यो सुरुङमार्ग जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमा बनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad