राजनीति


वामदेव गौतमको प्रस्ताव : नेपाल-भारत खुला सीमा बन्द गरौं, दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउँ

वामदेव गौतमको प्रस्ताव : नेपाल-भारत खुला सीमा बन्द गरौं, दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउँ

नेपालखबर
असार १४, २०७७ आइतबार ५:३७,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको खुला सीमा बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्ने बताएका छन्।

उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध गराउनु पर्ने धारणा राखेका छन्।

‘सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ,’ नेता वामदेव गौतमको सचिवालयद्वारा गौतमको धारणा भनी आइतबार जारी गरिएको वक्तव्यमा भनिएको छ।

गौतमले नेपालले दुवै छिमेकी राष्ट्रसँग रहेका कुनै पनि समस्या समाधान गर्न ‘युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न’ भन्दै त्यस्ता सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्नेमा जाेड दिएका छन्।

गौतमको वक्तव्य उनकै शब्दमा:
पाटीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां नेपाल सरकार, सवै राजनितिक पार्टी दुवै सदन, र संपूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद वधाई र आभार प्रकट गर्छु।

सिंगो राष्ट्रलाई एकतावद्ध गरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएकोछ। भारतीय सेना नेपाली भूमिवाट हट्दासाथ हामीले १०० प्रतिशत विजय हासिल गर्नेछौं।

यसै सन्दर्भमा गरिएको महाकाली नदीको एकिकृत विकास सम्बन्धी सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो।

पार्टीबिरोधी भनेर हामीलाई लगाइएको आरोपसहीत पार्टीबाट निस्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस।

अव ढिला नगरी नेपाल–भारत बीच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ।

हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्छ।

-वामदेव गौतम, उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad