अमेरिकाले शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको बताएको थियो।
हङकङको स्वतन्त्रता कमजोर बनाउने प्रयत्न गरेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अधिकारीलाई भिसामा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका थिए।
हङकङको प्रसंग उठाउँदै चिनियाँ अधिकारीलाई अमेरिकामा प्रतिबन्ध गर्ने बताएपछि चीनले अमेरिकालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न सुझाव दिँदै हस्तक्षेप भए अमेरिकी कदमको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
शनिबार चिनियाँ विदेशमन्त्रालयले हङकङको विषयमा अमेरिकाले बारम्बार हस्तक्षेप गरेको बताउँदै अमेरिकी कार्य बदमाशीपूर्ण र हेपाह प्रवृत्तिको भएको जनाएको छ।
मन्त्रालयले भनेको छ,‘अमेरिकाले हङकङ र चीनको आन्तरिक मामिलामा अवरोध खडा गर्ने कार्य बन्द गर्नुपर्छ नत्र अमेरिकाले चिनियाँ पक्षबाट कडा प्रतिकार व्यहोर्नेछ।’
चीनले हङकङका लागि बनाएको नयाँ सुरक्षा कानुनअनुसार हङकङमा चीन विरोधी गतिविधि भए त्यसलाई अपराध ठहर गरिनेछ।
कानुनअनुसार चीनले हङकङमा पहिलोपटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दै छ। यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्। एससीएमपी

प्रतिक्रिया