राजनीति


प्रतिबन्धित नेकपाका नेता सुदर्शन र सत्तारूढ नेकपाका महासचिव पाैडेलबीच भेटवार्ता

प्रतिबन्धित नेकपाका नेता सुदर्शन र सत्तारूढ नेकपाका महासचिव पाैडेलबीच भेटवार्ता

दीपक खरेल
असार २९, २०७६ आइतबार १२:८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल प्रतिबन्धित विप्लव नेकपाका नेता भेट्न कारागार पुगेका छन्।

महासचिव पौडेलले केही दिनअघि विप्लवका स्थायी समिति सदस्य तथा तत्कालीन मध्यकमान्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई नख्खु कारागार पुगेर भेटवार्ता गरेका हुन्।

सरकार र विप्लव पक्षबीच दूरी बढ्दै गएको र कतिपय स्थानमा एक अर्कामाथि आक्रमण समेत भइरहेको समयमा सत्तारुढ दलकै महासचिवले जेलमै पुगेर विप्लवका नेतासँग भेटवार्ता गरेका हुन्।

महासचिव पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका दूतका रुपमा वार्ताको वातावरण बनाउनका लागि सुदर्शनलाई भेट्न पुगेको स्रोतहरूको दाबी छ।

कारागार स्रोतले महासचिव पौडेल नेता सुदर्शनबीच भएको भेटवार्ता पुष्टि गरेको हो। ‘महासचिवज्यू कारागारमै आएर उहाँसँग भेट गर्नुभएको हो’, नाम उल्लेख गर्न नचाहने सर्तमा कारागार स्रोतले नेपालखबरसँग भन्यो, ‘के विषयमा कुराकानी भो भन्ने हामीलाइ थाहा भएन।’

जेलरको कोठामा सम्वाद

पौडेल पूर्व सूचना दिएरै कारागारमा पुगेको थिए। कारागारस्थित जेलरको कोठामा सुशर्दनसँग भेटवार्ता गरेको स्रोतले बतायो।'दुई जनाले १ घण्टाभन्दा बढी समय कुराकानी गर्नुभयो। उहाँहरूबीच के विषयमा कुराकानी भयो जानकारी भएन।'

पछिल्लो समय प्रधानमन्त्री ओली विप्लवसँग वार्ता र संवादका माध्यमबाट अगाडि बढ्ने सोचमा पुगेका छन्। त्यसको वातावरण बनाउन उनले महासचिव पौडेललाई जिम्मा दिएका छन्।

महासचिव पौडेल त्यही सन्देश लिएर सुदर्शनलाई भेट्न पुगेको स्रोतको दावी छ। भेटका क्रममा पौडेल र सुदर्शनबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।

महासचिव पाैडेललाइ पटक-पटक सम्पर्क गर्न प्रयास गर्दा उनले मोबाइल उठाएनन्।

नेपाली सेनाले समेत केही दिनअघि प्रधानमन्त्री ओलीलाई पछिल्लो अवस्थाको ‘ब्रिफिङ’मा वार्ता र सम्वादकै माध्यमबाट समाधान खोज्न सुझाएको छ।

नेपाल प्रहरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतलाई जानकारी नदिई सर्लाहीका इन्चार्ज कुमार पौडेलमाथि गोली चलाएपछि वार्ता र संवादको वातावरण थप अन्यौलमा पुगेको थियो।

विप्लवका एक नेताले सरकारसँग वार्ताबारे सत्तारुढ दलका नेताहरुसँग छलफल भइरहेको जानकारी दिए। ‘वार्ताबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा सत्तारुढ दलका नेतासँग पटकपटक भेटघाट र छलफल भइरहेको छ’, नेपालखबरसँग कुरा गर्दै ती नेताले पनि, ‘यो भेट पनि त्यसैको निरन्तरता हो।’

पछिल्लो समय विप्लव नेकपाले उठाएका मुद्दा वार्ता र सहमतिबाट समाधान गर्ने पक्षमा सरकार पुगेको छ भने सो पार्टीले भने वार्ताका लागि ३ सर्त अगाडि सारेको छ। विप्लव नेकपाले सरकारसँग वार्ताका लागि पार्टीमाथिको प्रतिबन्ध हटाउने, जेलमा रहेको कार्याकर्तालाई तत्काल रिहा गर्ने र वार्ताका लागि औपचारिक रुपमै पत्रचार गर्नुपर्ने ३ सर्त राखेको छ।

महासचिव पौडेलसँगको भेटका क्रममा नेता सुदर्शनले पनि तिनै माग अगाडि सारेको र पौडेलले भने उनलाई वार्ताको वातावरण बनाइदिन आग्रह गरेको स्रोतले बतायो। उनले द्वन्द्वबाट दुवैै पक्षलाई फाइदा नहुने भन्दै सरकार वार्ताका माध्यमबाट अगाडि बढ्न तयार रहेको र नेकपालाई पनि तयार रहन आग्रह गरेका थिए।

गत चैत ९ गते काभ्रेबाट पक्राउ परेका सुदर्शनलाई नख्खु बम काण्डको दोषी ठहर गर्दै जिल्ला अदालत ललितपुरले वैशाख १० गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशपछि उनी नख्खु कारागारमा छन्।

प्रहरीले सुदर्शनसहित पक्राउ परेका ६ जनाविरुद्ध बम विस्फोटन गराइ कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .