ad ad

राजनीति


सबै सरकारी कार्यालय आजबाट खुला, दुई सिफ्टमा सञ्चालन हुने

 सबै सरकारी कार्यालय आजबाट खुला, दुई सिफ्टमा सञ्चालन हुने

नेपालखबर
असार १, २०७७ सोमबार ०:१३,

देशभरका सरकारी कार्यालयहरू आज (१ असार) देखि सञ्चालन हुँदैछन्। आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि देशभरका अधिकांश सरकारी कार्यालय बन्द छन्। ८३ दिनदेखि बन्द रहँदै आएका सरकारी कार्यालय आजबाट पूर्ण रुपमा सञ्चालन हुन लागेका हुन्।

 बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो। यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ।

लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए।

बिहानको सिफ्ट बिहान ६ बजेदेखि १ बजेसम्म र दिउँसोको सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्। कोरोना संक्रमण फैलिन नदिन सुरक्षाका सबै उपाय अपनाएर कार्यालय सञ्चालन गरिने सरकारले जनाएको छ।

तर, सरकारले कर्मचारीलाई अनिवार्य कार्यालय जान भने पनि सार्वजनिक सवारी साधन चढेर कार्यालय जाने आउने कर्मचारीलाई भने सहज छैन। कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

२८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई केही खुकुलो बनाउने र १ असारदेखि देशभरका सरकारी कार्यालयको सेवाप्रवाह सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो लकडाउनको कारण जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न भनेको छ।

कार्यालय प्रभावकारी रूपमा सञ्चालन भए–नभएको बारेमा प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

 त्यसैगरी सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ। सार्वजनिक सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ।

यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ। सञ्चालनमा रहेको सवारी साधनमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ।

बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .