ad ad

छापा खबर


प्रवासी मजदुरको उद्धार अनिश्चित  

प्रवासी मजदुरको उद्धार अनिश्चित   

नेपालखबर
जेठ ३२, २०७७ आइतबार २३:४५,

हवाई भाडाका विषयमा एकपछि अर्को निर्णय गर्दै आएको सरकारले व्यवस्थापनको विषयमा स्पष्ट निर्णय नगर्दा उद्धार उडान अनिश्चित भएका छन् ।

विभिन्न २५ सहरको तालिका सार्वजनिक गरे पनि तयारी नपुगेकाले सोमबार र मंगलबारका उडान नहुने भएका छन्, त्यसपछिका उडानको पनि टुंगो नरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

सरकारले ३२ जेठदेखि ११ असारसम्म २४ हजार नागरिकलाई नेपाल फर्काउने घोषणा गरेको थियो । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट दैनिक १० वटासम्म उडान गर्ने तालिका बनाएको छ । दैनिक एक हजार आठ सयजनालाई फर्काउने योजना छ ।

यसका लागि नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ गरी ४३ उडान गर्नेछन् । त्यस्तै विदेशीका एयरलाइन्सले २४ उडान गर्नेछन् ।

सरकारले संकटमा परेका मजदुरको उद्धार गर्ने भनेर मजदुरबाटै रकम संकलन गर्ने नीति लिएको छ । तर, भाडा धेरै महँगो भएकाले नेपाली दूतावासले पनि त्यो दरमा मजदुर उडाउन नसक्ने स्पष्ट पारेका छन् । तयारी नपुगेको र भाडा महँगो भएकाले दूतावासले तालिकाअनुसार उडान हुन नसक्ने सूचना जारी गरेका छन्।

माल्दिभ्सस्थित नेपाली दूतावासले सूचना जारी गरी सोमबार नेपाल एयरलाइन्सले गर्ने भनिएको चार्टर्ड फ्लाइट हालका लागि स्थगित गरिएको जनाएको छ।

यस्तै साउदी अरबबाट असार १ देखि गर्ने भनिएका विभिन्न उडानसमेत रद्द गरिएको नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले जानकारी गराए । ‘नयाँ भाडादर र तालिका प्राप्त नभएसम्मका लागि उडान स्थगित गरिएको सूचना दूतावासले जारी गरेको छ,’ उनले भने।

सोमबारका लागि तय भएको मलेसियाको उडानसमेत रद्द भएको छ । सोमबार उडान हुने तालिका भए पनि आइतबारसम्म पनि टिकट बुकिङ सुरु नभएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘आजसम्म टिकट खुला भएको छैन । भोलिको उडान कसरी सम्भव होला ?’ उनले प्रतिप्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .