राजनीति


राष्ट्रियसभाबाट संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाबाट संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ९:५,

राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उनले विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गरिन्।

उनले संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताइन्। उनले भनिन्, ‘भारतसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ’, उनले अद्यावधिक नेपालको नक्साअनुसार संविधानको अनुसूची–३ सच्याउने अभिप्रायले ल्याइएको संविधानको दोस्रो संशोधनलाई समर्थन गरिदिन आग्रह गरिन्।

यस अघि सो प्रस्ताव माथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्थले नयाँ नक्सा जारी भएपछि अब भूमि फिर्ता ल्याउन पहल गर्न आवश्यक रहेको बताइन्।

नेकपाका सुमनराज प्याकुरेल, नेकपाका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्की अछामीले अब गुमेको भूमि फिर्ता ल्याउन एकजुट हुन आग्रह गरे।
नेपाली कांग्रेसका तारादेवी भट्टले सिमानामा बस्ने नेपालीले धेरै दुःख पाएका उल्लेख गर्दै पूर्वदेखि पश्चिमसम्मको मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो तारबार गर्नुपर्नेमा जोड दिइन्।

नेकपाका भगवती न्यौपानेले सरकारको ऐतिहासिक निर्णयले नेपाली नागरिक राष्ट्रियताको भावनाले ओतप्रोत भएको हुँदा नेपाली भूमि फिर्ता गर्ने राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने धारणा राखिन्।

सोही पार्टी नेकपाका जीवन बुढा, रामलखन चमार, दीपा गुरुङ र चक्रप्रसाद स्नेहीले नेपालको सीमारेखा स्पष्ट पारेर नक्सा पास गर्नु ऐतिहासिक काम भएको उल्लेख गर्दै भूमि फिर्ता लिन पनि एकताबद्ध भएर कूटनीतिक पहल गर्नुपर्छ भने।

नेकपाका खीमकुमार विक र मेहशकुमार महराले सीमारक्षा गर्ने विषयमा राष्ट्रिय एकता भएको हुँदा नेपालको भूभाग भन्ने नेपालसँग स्पष्ट प्रमाण भएको हुनाले फिर्ता ल्याएर चलनभोग गर्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझीले नेपालको भूभाग फिर्ता ल्याउने विषयमा पूर्णरूपमा समर्थन रहेको र कूटनीतिक वार्तामार्फत प्रमाणका आधारमा नेपालको भूमि भएको पुष्टि गर्नुपर्ने बेला आएको बताए।

राष्ट्रियसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad