शनिबार भारत र चीनबीचको सीमा क्षेत्रमा रहेको विवादलाई दुई देशबीचको जारी छलफलले टुंगोमा लगाउने विश्वास व्यक्त गर्दै नरवाणेले हाल सीमाको अवस्था नियन्त्रणमा रहेको बताएका हुन्।
देहरादुनस्थित इन्डियन मिलिटेरी एकेडेमीको पासिङ आउट परेडमा पत्रकारसँग उनले भने,‘म सबैलाई यो विश्वस्त तुल्याउन चाहन्छु कि चीनसँगको सीमा अवस्था हाल नियन्त्रणमा छ। हामीले छलफलहरु लगातार गरिरहेका छौं।’
केही समय अगाडि भारत र चीनका सेनास्तरमा लद्दाखमा जारी सीमा विवाद टुंग्याउने विषयमा छलफल भएको थियो। चिनियाँ तथा भारतीय विदेशमन्त्रालयले वार्ता सकारात्मक भएको बताएका थिए।
त्यसपछि चिनियाँ सेनाहरु गलवान उपत्यकाबाट पछाडि हट्दै गएको समाचारहरु आएका थिए।
नरवाणेले शनिबार भनेका छन्,‘दुवै देशका सेनाहरु चरणबद्ध रुपमा विवादित भूमिबाट पछि हट्दैछन्। अहिले गलवान उपत्यकाको खोलाबाट सेनाहरु पछाडि हटिरहेका छन्। चीनसँग अर्थपूर्ण वार्ता भएको छ। मलाई लाग्छ वार्ता जारी रहे अवस्थामा सुधार आउँछ।’
शनिबार चीनसँगको सीमा विवादबारे प्रतिक्रिया दिएका नरवाणेलाई नेपालसँगको सीमा विवादबारे पनि प्रश्न गरिएको थियो। नेपालले हालै भारतले आफ्नो दाबी गर्दै आएको लिपुलेक, लिम्पियाधुरा र कालापनी समेटेर नयाँ नक्सा जारी गरेको छ।
नरवाणेले नेपालले उक्साहटमा नयाँ नक्सा बनाएको आरोप लगाएका थिए। शनिबार भने उनले नेपालसँगको सम्बन्ध सुमधुर रहेको र सँधै बलियो हुनेमात्र प्रतिक्रिया दिएका थिए। द हिन्दु

प्रतिक्रिया