साझा पार्टीले देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति ऐक्यबद्धता जाहेर गरेको छ।
अति भएपछि नागरिकहरू देशभरी सडकमा उत्रिएका बताउँदै साझाले नागरिक प्रदर्शनमा मूलतः कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडीटी परीक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानबिन गर्नुपर्ने माग प्रति समर्थन जनाएको हो।
‘सम्पूर्ण नेपालीको त्यो आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय हो’ साझाले भनेको छ।
गत चैत १५ गते साझा पार्टीले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा सुझाए अनुसार वर्तमान संकटले विविध क्षेत्रमा पारेको तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गरेर अघि बढ्न आग्रह गरिएको सहप्रवक्ता शरदराज पाठकले प्रकाशित गरेको विज्ञीप्तमा उल्लेख छ।

प्रतिक्रिया