राजनीति


नेपालसँग कोभिड–१९ पछि मात्र संवाद हुने बताएको भारत अरु देशहरुसँग भने निरन्तर वार्तामा

नेपालसँग कोभिड–१९ पछि मात्र संवाद हुने बताएको भारत अरु देशहरुसँग भने निरन्तर वार्तामा

नेपालखबर
जेठ २५, २०७७ आइतबार १३:२२,

भारतले बैशाख २६ गते नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले त्यसको चर्को विरोध गर्‍यो।

त्यसको बिरोधस्वरुप परराष्ट्रले बैशाख ३० गते भारतीय राजदूतलाई मन्त्रालय बाेलाएर उनीमार्फत् भारत सरकारलाई कुटनीतिक नोट पठायो।

त्यसको दुई दिनपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो सडक भारतीय भूमिमै बनेको दाबी गर्दै दुई देशबीच संवाद गर्ने स्थापित संयन्त्र कायमै रहेको र त्यसका लागि दुवै पक्ष सम्पर्कमा रहेको बताए।

सो वक्तव्यमा उनले कोभिड–१९ संकटलाई दुवै तर्फका समाज र सरकारले समाधान गरेपछि मात्र द्विपक्षीय वार्ता हुने बताएका थिए।

नेपालले सीमा विवाद सुल्झाउनका लागि सचिवस्तरीय संयन्त्रको बैठक निरन्तर माग गरिरहेको सन्दर्भमा उनले त्यस्तो बैठक कोरोना समस्याबीच बस्न संभव नभएकोले त्यसलगत्तै बस्ने तर्क गरेका हुन्।

परराष्ट्र मन्त्रालयले नेपालले सीमा विवादलाई कुटनीतिक माध्यमबाट टुंग्याउनका लागि परराष्ट्र सचिवस्तरीय बैठक गर्नका लागि दुई पटकसम्म मिति प्रस्ताव गर्दा पनि भारतले त्यसबारे चासो नदेखाएको धारणा सार्वजनिक गरेपछि उनले सो प्रतिक्रिया दिएका थिए।

तर, श्रीवास्तवले कोरोना संकटबीच द्विपक्षीय वार्ता हुनसक्ने अवस्था नरहेको जिकिर गरेपछि भारतका प्रधानमन्त्री र विदेशमन्त्रीले बिभिन्न मुलुकका आफ्ना समकक्षीहरुसँग वार्ता गरेका छन् भने अरु तहमा पनि वार्ता भइरहेका छन्। उनीहरु बिभिन्न मञ्चहरुमा सहभागी पनि भएका छन्।

नेपालसँग सीमा विवाद भइरहेकै बेला भारतको चीनसँग पनि सीमा विवाद चर्किरहेको छ।

तर, उत्तरी छिमेकी चीनसँग भने भारतले यहि कोरोना संकटको बीचमा पनि निरन्तर वार्ता गरिरहेकै छ। यी दुई मुलुकले उनीहरुका कुटनीतिक र सैन्य माध्यममार्फत् सीमा समस्याबारे वार्ता जारी राखेका छन्।

शनिबार दुवै पक्षका सैन्य कमान्डरबीच वार्ता भएको थियो। सो वार्ता सौहार्दपूर्णरुपमा सम्पन्न भएको र दुवै पक्ष सैन्य र कुटनीतिक सहभागिताबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न सहमत भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

भारतका पूर्वी एसिया हेर्ने सहसचिव नवीन श्रीवास्तव र चीनको विदेश मन्त्रालयका महानिर्देशक वु जियाङहउबीच शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् बैठक भएको थियो।

बुधबार मोजाम्बिकका राष्ट्रपति फिलिप ज्यासिन्टो न्युसीसँग फोनवार्ता गरेका मोदीले शुक्रबार रुवान्डाका राष्ट्रपति पउल कागामेसँग फोनमैं वार्ता गरेका थिए।

माेदीले बिहीबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग भर्चुअलरुपमा शिखर वार्ता गरे। सो वार्ताका क्रममा मोरिसनको भारत भ्रमणको मिति पनि तय गरियो।

जेठ २० गते मोदीले अमेरिकी राष्ट्रपतिसँग टेलिफोनमै वार्ता गरेका थिए।

उनले बिहीबार भर्चुअलरुपमा आयोजना गरिएको ग्लोबल भ्याक्सिन समिट २०२० लाई सम्बोधन गरे। त्यसमा उनले डेढ करोड अमेरिकी डलर बराबर सहयोग गर्ने घोषणा समेत गरे।

सीमा विवादका कारण दुई देशबीच सम्बन्ध चिसिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन वा भिडियो कन्फ्रेन्स गर्न चाहिरहेको स्रोतहरुको भनाई छ।

तर, हरेक दिनजसो कुनै न कुनै देशका समकक्षीसँग संवादमा रहेका मोदीले नेपाली पक्षसँग भने वार्ता गर्न तत्परता देखाएका छैनन्।

याे पनि:

सीमा विवादबारे शनिबार सम्पन्न वार्तामा चीन-भारतबीच के भयाे सहमति?

नेपालले भन्याे- लिपुलेकमा भारतले द्विपक्षीय सहमति तोड्यो, यस्ता गतिबिधि राेकाेस्

नेपालले नक्सा जारी गरेपछि सीमा विवादमा भारतको नरम जवाफः आपसी समझदारीमा सुल्झाउँ

भारतले भन्यो : नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्दैनौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad