अमेरिकामा गोरा जातका प्रहरीको कुटाइबाट काला जातका नागरिक मारिएको विरोधमा आन्दोलन चर्किरहेका बेला ट्विटरमा प्रयोगकर्ताले ‘रेसिस्ट’ अर्थात् रंगभेदी ‘टाइप’ गरेर खोज्दा राष्ट्रपति डोनाल्ड ट्रम्प नम्बर १ मा देखिएका छन्।
बुधबार ट्विटर प्रयोगकर्ताले यसरी सर्च गर्दा ‘सजेस्टेड एकाउन्ट’ मा ट्रम्पको नाम पहिलो नम्बरमा आएको समाचार संस्था एएफपीले जनाएको छ ।
यससम्बन्धी खबर पहिलोपटक बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टले प्रकाशन गरेपछि आफूहरूले पनि तथ्य खोजी हेर्दा ‘रेसिस्ट’ अर्थात् रंगभेदीमा ट्रम्पको नाम पहिलो नम्बरमा पाइएको एएफपीले उल्लेख गरेको छ।
एएफपीका अनुसार ट्विटरमा ट्रम्पका ८० मिलियनभन्दा बढी फलोअर्स छन्, तर तीमध्ये कति सक्रिय छन् भन्ने कुरा अध्ययनकै विषय हाे।
प्रहरी हिरासतमै रहेका बेला अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युभएपछि ८ दिनदेखि अमेरिकाभर व्यापक विरोध प्रदर्शन भइरहेको छ। यस क्रममा ट्रम्पलाई रंगभेदी भएको आरोप पनि लगाइरहेका छन्। तर ट्रम्पले आफू त्यस्तो नभएको दाबी गरिरहेका छन्।
यसैबीच ट्विटरमा उनी रंगभेदीका रूपमा पहिलो नम्बरमा देखिएको तथ्य सार्वजनिक भएको हो।
Shares

प्रतिक्रिया