विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग सम्बन्ध अन्त्यको घोषणा गरेकामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको विदेशमा मात्र होइन, देशभित्रै पनि आलोचना तीव्र बनेको छ।
युरोपेली युनियनले ट्रम्पलाई एकपटक आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
जर्मनीका स्वास्थ्यमन्त्रीले ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्वास्थ्यका लागि निराशाजनक झट्का भएको बताएका छन् ।
अमेरिकी सिनेटमा स्वास्थ्य समितिका प्रमुखले पनि यो महामारीका बेला डब्ल्यूएचओबाट अलग हुने समय नभएको विचार राखेका छन्।
अमेरिकी राष्टपति ट्रम्पले डब्ल्यूएचओ चीनको कठपुतली बनेर कोरोना भाइरसको सूचना समयमै नदिएको आरोप लगाइरहेका छन्।
यसै क्रममा गत महिना डब्ल्यूएचओलाई अमेरिकाबाट हुने आर्थिक सहयोग बन्द घोषणा गरेका ट्रम्पले शुक्रबार सम्बन्धै तोड्ने घोषणा गरेका हुन्।
डब्ल्यूएचओलाई संसारमै सबैभन्दा बढी अनुदान दिने मुलुकमा अमेरिका नै पर्छ। गत वर्ष अमेरिकाले डब्ल्यूएचओलाई ४० करोड डलरभन्दा बढी अनुदान दिएको थियो।
ट्रम्पको निर्णयप्रति अन्य देशको प्रतिक्रिया कस्तो छ?
युरोपियन कमिसनकी प्रमुख उर्सुला वोन र शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले यो विश्वव्यापी महामारीका बेला अझ सहयोग बढाउनुपर्ने उल्लेख गर्दै सबैले मिलेर समाधान खोज्नुपर्ने सुझाव दिएका छन्।
उनीहरूले भनेका छन्, ‘अमेरिकाको यो कदमले विश्वमा असर पर्नेछ। जसलाई रोक्न आवश्यक छ। हामी अमेरिकालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्छौं।’
जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले यो निर्णय निराशाजनक भएको बताएका छन्। तर उनले डब्ल्यूएचओले पनि आफूलाई सुधार्न आवश्यक भएको औंल्याएका छन्।
उनले भनेका छन्, ‘ईयूले यसमा अब थप सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेछ र आर्थिक सहयोगको ठूलो हिस्सा बेहोर्नुपर्नेछ।’
बेलायतका एक प्रतिनिधिले कोरोना भाइरस विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै यसमा विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भनेका छन्, ‘डब्ल्यूएचओको सक्रियता अत्यन्त आवश्यक छ। डब्ल्यूएचओलाई बेलायतबाट पाउने रकम जारी रहनेछ र हाम्रा तर्फबाट रकम रोक्ने कुनै योजना छैन।’
अमेरिकी सिनेटमा स्वास्थ्य समितिका प्रमुख लेमर एलेक्जेन्डरले ट्रम्पको यो निर्णयले कोभिड–१९ को खोप बनाउने काममा धक्का पुग्ने बताएका छन्। लेमरले पनि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्।
उनले भने, ‘यसमा कुनै शंका छैन, डब्ल्यूएचओ पारदर्शी हुनपर्छ। कोरोना भाइरसको महामारीमा डब्ल्यूएचओप्रति पनि विभिन्न प्रश्न उठेका छन्। तर अहिले हामीले सहकार्य गर्न आवश्यक छ। हामीले बाँकी कुरा यो महामारीपछि सुल्झाउन सक्छौं, तर बीचमा यस्ता कदम उठाउँदा लक्ष्य हासिल गर्न सकिँदैन।’
अमेरिकामा राष्ट्रपति पदकी उम्मेद्वार रहेकी सांसद एलिजाबेथ वारेनले ट्विट गर्दै भनेकी छन्, ‘विश्वव्यापी महामारीका क्रममा डब्ल्यूएचओसँग नाता तोड्दा हाम्रो विश्वव्यापी नतिजा प्रभावित हुनेछ र अमेरिकी नागरिकको स्वास्थ्य प्रणाली पनि प्रभावित हुनेछ।’
डब्ल्यूएचओका पूर्वकार्यकारी महानिर्देशक एन्ड्रेस नार्डोस्ट्रोमले पनि ट्रम्पको यो निर्णयलाई चिन्ताजनक भनेका छन्। उनले विश्वव्यापी महामारीका बेला एकता आवश्यक हुने र यस्तो निर्णयले राजनीतिक तनाव बढाउने बताएका छन्।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले पनि यसलाई दुर्भाग्यपूर्ण भनेका छन्।
ट्रम्पले यस्तो निर्णय किन गरे?
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूले डब्लूएचओलाई आफ्नो व्यवहार सुधारका लागि अनुरोध गरिएको तर उसले मतलब नगरेको भन्दै ऊसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए।
उनले भनेका थिए, ‘डब्लूएचओका लागि स्थापना गरिएको अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ। डब्लूएचओ पूरै चीनको नियन्त्रणमा छ, अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको भए पनि।’ बीबीसी

प्रतिक्रिया