अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष भारत-चीनबी सीमा विवादमा आफूलाई मध्यस्थताकर्ता बनाउन पुनः प्रस्ताव गरेकाे भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
चीनसँग ‘ठूलो टकराव’ का कारण आफूले प्रधानमन्त्री मोदीको ‘मुड’ ठीक नदेखेको दाबी गर्दै ट्रम्पले बिहीबार ओभलमा पत्रकारसँग भनेका छन्, ‘यदि मोदीलाई मैले मद्दत गर्न सक्छु भन्ने लाग्छ भने म मध्यस्थता गर्न तयार छु।’
एक भारतीय पत्रकारसँग ट्रम्पले मोदी आफूलाई मन पर्ने व्यक्ति भएको र उनी कोमल हृदयको भएको बताएकाे भनी भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन्।
‘भारत र चीनबीच ठूलो टकराव छ। दुवै देशको जनसंख्या विशाल छ र दुवैसँग शक्तिशाली सेना छ। भारत खुसी छैन र सायद चीन पनि खुसी छैन। मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिएँ, चीनसँग केही भइरहेको छ, उनको मुड राम्रो देखिनँ,’ ती समाचारमा भनिएकाे छ।
बुधबार पनि राष्ट्रपति ट्रम्पले सीमामा दुई देशबीच भइरहेको तनावमा आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए। उनले भनेका थिए, ‘उनीहरूल विश्वास गर्छन् भने म यो काम गर्न सक्छु।’
तर भारतले ट्रम्पको प्रस्तावलाई एकदम सावधानीपूर्वक जवाफ दिएको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कम गरिरहेका छौं।’
ट्रम्पको प्रस्तावप्रति चीनको विदेश मन्त्रालयबाट भने कुनै प्रतिक्रिया आएको छैन, तर चीनको आधिकारिक अखबार ग्लोबल टाइम्सले दुवै देशलाई यस किसिमको सहयोगको खाँचो नभएको बताएको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक प्रेस सम्मेलनमा वार्ता र परामर्शका माध्यमबाट विवाद समाधान गर्न दुवै देशसँग उचित संयन्त्र रहेको बताएका छन्।
लिजियनले भनेका छन्, ‘हामी आफ्नो क्षेत्रीय सार्वभौमिकता र सीमा क्षेत्रमा शान्ति र स्थायित्व रक्षा गर्न प्रतिबद्ध छौं। अहिले चीन–भारत सीमाको अवस्था पूर्ण रूपमा स्थिर र नियन्त्रणमा छ। हामी यस मुद्दालाई पूर्ण वार्ता र परामर्शद्वारा समाधान गर्न सक्छौं। सक्षम छौं।’
अक्साई चीनको गाल्भान उपत्यका छेउछाउमा चिनियाँ सेनाले पाल टाँगेको भन्दै भारतले आरोप लगाएपछि यी दुई देशबीच तनाव भइरहेको छ।
गाल्भान उपत्यका लद्दाख र अक्साई सीमानजिकै छ। यहाँ रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) ले दुई देशको भूभाग छुट्याउँछ। यो उपत्यका चीनको दक्षिणी सिनजियाङ र भारतको लद्दाखसम्म फैलिएको छ।
त्यहाँ चीनले सैनिक गतिविधि बढाएको देखेपछि भारतले पनि आफ्नो सेना तैनाथ गर्यो। यसपछि चीनले भारतले गाल्भान उपत्यकानजिक सुरक्षासम्बन्धी अवैध संरचना निर्माण गरिरहेको अरोप लगाएको छ। यसअघि मे ९ मा उत्तर सिक्किमको नाथुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप पनि भएको थियो। बीबीसी हिन्दी

प्रतिक्रिया